बर्दिवास / राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक (झापा) का कर्मचारीले एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा एक दिन श्रमदान गर्न आएका सो कार्यालयका १३ जना अधिकृतसहितका कर्मचारीले आफ्ना २६ जना साथीबाट सङ्कलन भएको रकम बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय महत्वको पर्वका दिन कल्याणकारी काममा लगाउने मन भएपछि शनिबार नमुना मुसहर बस्तीमा श्रमदान गर्न आएको र थोरै नगदसमेत सहयोग गरिएको कार्यालयका कर्मचारीको भनाइ छ । “धेरै दिनपछि फरक ढङ्गले प्रजातन्त्र दिवस मनाइयो” टोलीमा संलग्न कमला बस्नेतले इँटाको भारी बिसाउँदै भने –, “पुस्तौँपुस्तादेखि अभाव र गरिबीबाट पिल्सिएका मुसहरका बनिरहेका घरमा श्रमदान र केही नगद सहयोग गर्न सक्यौँ ।”

फाउन्डेसनलाई बर्दिवासका युवा उद्यमी रोशन गौतमले पनि ५१ हजार नगद हस्तान्तरण गरेका छन् ।

त्यसैगरी शनिबारै झापाको गौरीगञ्जका एलिसोना राजवंशी र विराटनगर मोरङका सङ्गीता खतिवडाले मुसहर बालबालिकाका लागि शैक्षिक सामग्रीर खेलकुद सामग्री फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् ।

गत पुस २५ गते शिलान्यास भएर निर्माण सुरु भएको मुसहर बस्तीमा तीनजना फ्रेञ्च, एकजना अर्जेन्टियन नागरिक र नेपाल युवा सञ्जाल ९आयोन० का १२ जना पनि पछिल्ला ३५ दिनदेखि श्रमदान गरिरहेका छन् । बस्ती निर्माणमा चार करोड ७८ लाखको लागत अनुमान गरिएको छ । आउने वैशाख १ गते नयाँ वर्षका दिन ५० घरपरिवारका मुसहरलाई हस्तान्तरण गरिने छ । बस्ती निर्माणको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको फाउन्डेसनका परियोजना प्रबन्धक न्यौपानेले जानकारी दिए ।