धनकुटा/ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाको तेस्रो जिल्ला अधिवेशन फागुन २० गते हुने भएको छ ।
फोनिजका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा मङ्गलबार बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का जिल्ला अध्यक्ष एवं फोनिजका केन्द्रीय सल्लाहकार सञ्जयसन्तोषी राईको प्रमुख आतिथ्यमा सम्पन्न शाखाको नियमित बैठकले जिल्ला अधिवेशन तयारीको लागि सम्पूर्ण व्यवस्थापन गर्ने गरी शाखा सचिव विदुर खवासको संयोजकत्वमा २१ सदस्यीय तेस्रो जिल्ला अधिवेशन तयारी मूल समिति समेत निर्माण गरिएको अध्यक्ष लामाले बताएका छन् ।
धनकुटामा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुको पेशागत दक्षतालाई थप व्यावसायिक बनाउन र पत्रकारिता पेशाप्रति आकर्षण बढाउन यसपटकको अधिवेशनदेखि आदिवासी जनजाति क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय पनि गरिएको लामाले बताएका छन् । उनले धनकुटाका रहेको सबै जाति समुदायका युवायुवतीलाई पत्रकारिता पेशामा काम गर्नको लागि हौसला बढाउने उद्देश्यले आदिवासी जनजाति क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गर्न लागिएको बताए ।
पत्रकारिता पुरस्कार हरेक तीन वर्षमा हुने जिल्ला अधिवेशनताका एकजना क्रियाशील आदिवासी जनजाति पत्रकारलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ भने एकजना अग्रज पत्रकारलाई सम्मान गरिने फोनिज धनकुटाका अध्यक्ष लामाले बताए । यसैगरी पत्रकार महासङ्घ धनकुटा शाखाको आगामी फागुन ७ गते हुने दशौं जिल्ला अधिवेशनमा फोनिज धनकुटाले कुशल नेतृत्व चयनको लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने पनि बैठकले निर्णय गरेको बताइएको छ ।