धरान/सोमबार अपरान्ह साढे १२ बजे । मास्क लगाएर एक युवा सेवा रेमिट्यान्स भित्र प्रवेश गर्छन । मास्क लगाएकै अवस्थामा उनको साथी बाहिर निलो पल्सरमा कुरेर बस्छन् । ‘पैसा पठाएको छ’ भनेपछि सञ्चालक जोर्डन देवान ‘कहाँबाट कति ?’ प्रश्न सोध्न नभ्याउँदै सेतो कपडामा बेरेको सामान देखाएर ‘चुपचाप पैसा ब्यागमा हाल्ने’ भन्दै धम्क्याएर पैसा बोकेर निलो पल्सरमा हुँइकिन्छ । करिव १० मिनेटको बीचमा धरान(१५ बुढाचोकस्थित सेवा रेमिट्यान्समा लुटेराले सोमबार अपरान्ह सञ्चालक देवानबाट साढे ४ लाख रुपैया लुटपाट गरेर लुटेरा फरार भएका छन् । रेमिट्यान्समा अप्सरा राईसमेत थिइन् । दुबैजनालाई कपडामा बेरेको हतियार देखाउँदै लुटपाट गरेका थिए । लुटपाट लगत्तै देवानले प्रहरीलाई मौखिक खबर गरे । प्रहरीले पनि सूचना आएपछि लुटपाटमा संलग्नको खोजी कार्य प्रहरीले तिब्र पारेको छ । घटना लगत्तै प्रहरीले चारै तर्फको नाकामा प्रहरी चेकजाँच बढाएको छ । विशेष गरेर पानमारा जानेबाटो, जिरोपोइन्ट, शिक्षा सदन चोक, रेल्वेचोक, मंगलबारे तर्फ पनि चेकजाँच गरेको छ । तर, लुटेराको हालसम्म फेला पर्न सकेको छैन् । ‘सञ्चालकले दिएको सूचना र हुलिया अनुसारको मान्छे खोज्ने क्रम तिब्र पारेका छौं ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने । धरानमा यस अघि चक्कु देखाएर चटपटे व्यापारीहरुसँग लुटपाट गरेको घटना सार्वजनिक भएको थियो । घटनामा संलग्नलाई प्रहरीले केही सातापछि पक्राउसमेत गरेको छ । एक महिना नबित्दै पुनः धरानमा हतियार देखाएर लुटपाट गर्ने श्रृङ्खला बढेको छ । ‘एकजना भित्र र एकजना मोटरसाइकलमा बाहिर बसेको रहेछ ।’ सञ्चालकको भनाइ उदृत गर्दै डिएसपी खतिवडाले भने, ‘पैसा पठाएको छ भनेपछि कहाँबाट कति ? भनेर सोध्न नपाउँदै माथि हेर्ने हैन, पैसा हाल भन्दै धम्क्याएछ ।’ उक्त रेमिट्यान्स दुईवर्ष अघि अनुमति लिए पनि केही महिना अघिबाट मात्रै सञ्चालनमा आएको थियो । रेमिट्यान्सका अर्का सञ्चालक सैलेश लिम्बू काठमाडौंमा बस्छन् । धरानमा पछिल्लो समय लुटपाट तथा झैझगडाको श्रृङ्खला बढिरहेको छ ।