भद्रपुर/अवैध रुपमा सुर्तीको कारोवार गरेको आरोपमा अन्दाजी ९१ किलो सुर्तीसहित एक कारोवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा गरामनी ४ का अन्दाजी ५० वर्षिय खिलेश्वर राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीले लामो समयदेखि सुर्तीको अवैध कारोवार गर्दै आएको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयवाट गएको टोलीले आइतवार दिउँसो राजवंशीको घरको बरण्डामा स्टार टी स्टेट महेशपुर ६ र कालिका टी चन्द्रगढी लेखिएको प्लाष्टिकको ठुलो झोला तथा बोरामा विना लेवल सिलबन्दी गरी खुद्रा प्याकेटमा राखिएको सुर्ती फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रतित सिं राठौरले बताए । बरामद सुर्ती तथा नियन्त्रणमा रहेका राजवंशीलाई आवश्यक कार्वाहीका लागी आन्तरिक राजस्व कार्यालय भद्रपुर पठाइएको इन्सपेक्टर राठौरले जनाए । पक्राउ परेका राजवंशीले सपना सुर्ती स्टोर दर्ता गराई राजस्व कार्यालयमा वार्षिक राजस्व बुझाउदै आएको बताउँछन् । आफुले धेरै वर्ष अघिदेखि सानो तिनो सुर्तीको व्यापार गर्दै आएको स्वीकारेका छन् ।
आन्तरिक राजसव कार्यालयका प्रमुख कर अधिकृत निर्मल ढकालले सोमवार १० वजे राजवंशीलाई कार्यालयमा हाजिर हुने गरी प्रहरीलाई पत्र दिएको बताए । बृस्तीत अनुसन्धान गरेरमात्र निर्णयमा पुगिने प्रमुख कर अधिकृत ढकालले बताए ।