काठमाडौं /राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शुक्रबारदेखि नेपाली सेनाका दुई सय जवानलाई डकर्मीसम्बन्धी तालिम दिन सुरू गरेको छ ।  सेनालाई एक साताको तालिम दिएर अति प्रभावित दुर्गम क्षेत्रमा निजी आवास निर्माण सहयोग गर्न र स्थानीयलाई तालिम दिन खटाइने प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका १३ जना इन्जिनियर यस काममा खटिएका छन् । अाजको गोरखापत्र दैनिकमा समाचार छ । तालिमपछि फागुनको पहिलो सातादेखि सेनालाई रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा खटाउने योजना प्राधिकरणको छ ।  अतिप्रभावित जिल्लामा भूकम्प प्रतिरोधी घर निर्माण गर्न दक्ष जनशक्ति अभाव भएकाले ढिलाइ भएको गुनासो बढेपछि प्राधिकरणले सेना र सशस्त्र प्रहरीको सहयोग लिँदै काममा खटाउने निर्णय गरेको छ ।   सेनालाई तालिम दिएपछि सशस्त्र प्रहरीलाई पनि भूकम्पप्रतिरोधी घर निर्माण गर्ने तालिम दिएर जिल्लामा खटाउने गृहकार्य प्राधिकरणले गरिरहेको सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए ।