काठमाडौँ/ सरकार र निजी क्षेत्रबाट छुट्टाइएको रु छ करोडभन्दा बढी रकम खर्च भइसक्दा पनि पुष्प व्यवसायमा खासै परिवर्तन नआएको सरोकारवालाको भनाइ छ । उक्त रकम सरकारले दिगो र व्यवस्थित पुष्प तथा पुष्पजन्य वस्तुको उत्पादन तथा व्यवसायीकरण गर्न विनियोजन गरेको थियो । कृषि विकास मन्त्रालयबाट रु चार करोड ७४ लाख १० हजार तथा निजी क्षेत्रबाट रु एक करोड ७० लाख ६० हजार गरी कुल रु छ करोड ४४ लाख ३२ हजार खर्च भइसक्दा पनि पुष्प व्यवसायमा थप आर्कषण र परिणाम देखिएको छैन । पुष्प व्यवसायीको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालमार्फत सरकारले उपलब्ध गराएको रकमबाट मेला प्रदर्शनी, प्रचारप्रसार, तालिम, अनुसन्धान, अन्तक्र्रिया, बैठक, अनुगमन तथा सुपरिवेक्षणमा अत्यधिक खर्च भएकाले उपलब्धि नगन्य देखिएको कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष राजेश वर्माले बताए । सरकारले पुष्प प्रवद्र्धन नीति २०६९ कार्यान्वयनमा ल्याएको चार वर्ष पुगेको छ । पुष्प प्रवद्र्धन नीति आएको वर्ष सरकारले फ्लोरिकल्चर एसोसिएसन नेपालमार्फत रु एक करोड रकम उपलब्ध गराएको थियो । आव २०७२÷७३ का लागि छुट्टाइएको रु दुई करोड ४५ लाख खर्च भइसकेको छ । रु ३७ लाख ५३ हजार ५९८ खर्च हुन बाँकी छ । पुष्प प्रवद्र्धन नीति, २०६९ कार्यान्वयन कार्ययोजनाको अवधि आव २०७५÷७६ मा सकिँदैछ । सरकारले पुष्प प्रवद्र्धनका लागि आव २०७४÷७५ का लागि पनि बजेट विनियोजन गर्छ ।