भद्रपुर/जिल्ला प्रहरी कार्यालय झापाको ४ करोड बढी लागतमा निर्मित सुविधा सम्पन्न कार्यालय भवनको बुधवार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।कार्यालय भवनको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उदघाटन गरेका छन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले देशभरमा ७२ हजार ७ सय २९ जना प्रहरी कर्मचारी कार्यरत रहेपनि केही खराब प्रवृतिका प्रहरी हुन सक्ने हुदा त्यस्ता प्रहरी कर्मचारीलाई संगठनले कानुन बमोजिम कार्वाही गर्दै आइरहेको बताएका छन् ।

प्रहरी आचरण सुधार भियानमा संगठन लागी परेको बताउदै यसतर्फ प्रहरी आफै सचेत भएमा देशको सुरक्षा व्यवस्था मजबुद हुने विश्वास उनले व्यक्त गरे । देशमा आर्थिक लेनदेनमा आधारित अपराधिक घटनाहरु बढदै गइरहेको बताउदै पहिलेको घटनाको प्रवृति र अहिलेको घट्ना फरक भएकाले यसतर्फ प्रहरीसहित आम नागरिक सचेत हुनुपर्ने उल्लेख गरे । नेपाल प्रहरीले गर्ने काम कारबाहीमा पहँुचको आधारमा अनावश्यक दवाव दिने कार्य बन्द भए, आम नागरिकले उचित न्याय पाउने उनको भनाई छ । समुदायमा केन्द्रित नागरिक उपेक्षा रहेका हुदाँ प्रहरी र नागरिक बिच खाडल बनेमा सुरक्षामा समस्या उत्पन्न हुने उनको बुझाई थियोे ।

समाजमा अपराध बढदै गइरहेको हुदाँ अनुसन्धानका लागि प्रहरी र नागरिक मिल्नु आवश्यक रहेको उनको धारणा छ । जिल्ला प्रहरी कार्यालयले विहान ११ बजेको उद्घाटन कार्यक्रमको कार्यतालिका रहेपनि खराब मौसमका कारण जहाज विराटनगर अवतरण भएर कार्यक्रमका प्रमुख अतिथी अर्याल विराटनगरवाट साझ साढे ५ बजे कार्यक्रम स्थल आइपुगेका थिए । मौसमका कारण केहि पाहुना घर फर्किएका थिए ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी केशरीराज घिमिरेको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले नर्वर्निमित भवनको बारेमा जानकारी गराएका थिए । भवनमा ३१ वटा कोठा रहेको छ । कुल क्षेत्रफल १५ हजार ५ सय ७६ वर्गफिट भवनको ठेक्का ओम साईराम कन्टक्सन प्रालि ललितपुरले लिएको थियो ।