धरान/ रेशम खेतीका लागि प्रयोग भइरहेको जग्गा भूमाफियाहरूले प्लटिङ गरेर बेचविखन गरिरहेको स्थानीयले बताएका छन् ।रेशम खेतीका लागि प्रयोग भइरहेको करीब दुई बिघा ऐलानी जग्गामा डोजर प्रयोग गरेर प्लटिङ गरी व्यक्तिले बेचविखन गरिरहेको भन्दै धरान उपमहागनरपालिकामा स्थानीयले निवेदन दिएका छन् ।

सो क्षेत्रमा रहेको चिहानसमेत तोडफोड गर्दै प्लटिङ गरिएको भन्दै धरान–२२ आँपटारका टेकबहादुर राईले उपमहानगरमा निवेदन दिएका हुन् । ‘सरकारले रेशम खेती गरिरहेको ठाउँमा चिहानसमेत हटाएर प्लटिङ गरिएको छ ।’ स्थानीय दीपक तामाङले भने । सरकारले करीब १२–१४ वर्षअघि त्यस क्षेत्रमा रेशम खेती गर्ने गरेको उनले बताए ।

उनका अनुसार माघको ८–९ गतेदेखि सो क्षेत्रमा नै प्लटिङ भइरहेको थियो । अहिले धरान उपमहानगरमा निवेदन दिएपछि देउराली प्रहरी, नगर प्रहरीको सहयोगमा प्लटिङ रोक्का भएको उनले बताए । ‘निवेदन दिएपछि कारवाही भएर डोजर लगाउने काम रोक्का भएको छ ।’ उनले थपे । स्थानीयका अनुसार सन्तोष लिम्बूले त्यहाँ डोजर लगाएका थिए । अर्का स्थानीय बाबु बोहराले प्लटिङका क्रममा ८–१० वटा चिहानसमेत भत्काइसकिएको बताए । करीब ५ कठ्ठा जग्गा डोजर लगाएर सम्याइएको उनले बताए ।

लिम्बूले भने घरको लागि माटो चाहिएर सो क्षेत्रबाट माटो लगेको बताउँदै प्लटिङ गर्ने आप्mनो नियत नभएको बताए । ‘मैले सम्याउने काम गरेको हुँ तर प्लटिङ गर्ने नियतले त्यो काम गरेको होइन’, उनले फोनमा भने, ‘मैले भोगचलन गर्दै आएको जग्गा हो ।’ रेशम खेतीको जग्गा र चिहान भत्काउने विषय त्यसै उछालिएको मात्र उनको जिकीर छ । ‘तल्लो–माथ्लो घरलाई सोध्दा हुन्छ । त्यहाँ रेशम खेती गरेको देखेको छैन ।’ उनले थपे । उनले ऐलानी जग्गा कसैले पनि प्लटिङ नगर्ने बताए ।

उनले भने, ‘रेशम खेती कुन–कुन मितिमा कहिले भो, उनीहरूले तथ्याङ्क देलान् ।’ तर २३ वर्षदेखि देउरालीमा बसिरहेकाले आपूmले रेशम खेती नदेखेको र गाविसको बैठकमा समेत कुरा नआएको लिम्बूले प्रष्ट्याए । ‘अहिले आएर एक्कासी रेशम खेती कहाँबाट आयो, मैले बुभ्mन सकेको छैन ।’ उनले भने ।धरान उमनपाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले रेशम खेती गरिएको जग्गा प्लटिङ गरिरहेको भन्ने निवेदन आएपछि तत्कालै नगर प्रहरी पठाएर रोक्का गर्न लगाइएको बताए ।

‘नगर प्रहरी लगाएर शुक्रबार रोक्का गर्न लगाएका छौँ’, उनले फोनमा भने, ‘निवेदनमा चिहान भत्काइदियो भनेर लेखेका थिए ।’ अधिकृत खतिवडाले प्लटिङ गरिरहेको आरोप लागेका लिम्बूलाई फोन गरेर ‘प्लटिङ गर्न तत्काल बन्द गर, ऐलानी जग्गा बिक्री वितरण गर्न पाइँदैन’ भनेर बताउँदा उनले ‘घरको लागि माटो निकालेको हो, बेचेको होइन’ भनेर आपूmलाई भनेको जनाए ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार ऐलानी पर्ती सरकारी जग्गाहरू संरक्षण गर्ने दायित्व स्थानीय निकायको भएको उल्लेख छ । त्यही व्यवस्थाअनुसार धरान उमनपाले सो जग्गा बेचविखन गर्न तथा नयाँ बस्ती बस्नको लागि रोक्का गर्न प्राविधिकसहितको टोली लगेर जाँच गरिने अधिकृत खतिवडाले बताए । २०६३ सालमा धरानका सुकुम्बासी संस्थाहरूसँग दलीय प्रतिनिधिसहित तत्कालीन धरान नगरपालिकाले ‘बसोबास गरिरहेकालाई नहटाउने, नयाँ बस्ती बस्न नदिने’ सहमति गरेको छ ।

सो सहमति उल्लङ्घन भए उमनपाले जुनसुकै बेला हटाउन सक्ने र त्यसमा दल तथा सुकुम्बासी संस्थाहरूको अवरोध नहुने सहमतिमै उल्लेख छ ।जग्गा प्लटिङको आरोप लागेका लिम्बूले सो जग्गा आप्mनो भएको बताउँदै पुर्जा देखाएकाले प्राविधिक जाँच पूरा नभइञ्जेलका लागि रोक्का गरिएको नगर प्रहरी प्रमुख राम कार्कीले बताए । ‘ऐलानी हो कि नम्बरी हो, त्यो छुट्याउनुपर्ने देखियो’, उनले भने, ‘नम्बरी नै रहेछ भने पनि जग्गा प्लटिङ गर्दा नपासँग स्वीकृति लिनुपर्छ । यसरी स्वीकृति लिइएको छैन । ऐलानी हो भने छुनै पाउँदैन ।’ उनका अनुसार ४ देखि ५ कठ्ठा जग्गामा हाल डोजर लगाएको पाइएको छ ।