इटहरी / नेपाल प्रेस युनियनको क्षेत्रीय भेला इटहरीमा भएको छ । भेलाले व्यवसायिक पत्रकारितामा जोड दिड दिदै पत्रकारितालाई मर्यादित बनाउने विषयमा छलफल गरेको छ । साथै अव आउने नेपाल पत्रकार महासंघको नेतृत्वमा सहभागिता गराउने विषयमा पनि छलफल गरिएको छ ।सोही अवसरमा नेपाल पत्रकार महासंघको नयाँ सदस्यता प्राप्त गर्ने सुनसरीका १४ जनालाई नेपाल प्रेस यूनियन सुनसरी शाखाको तर्फबाट बधाई तथा सम्मान गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीको सिफारिसका आधारमा उनीहरुले नयाँ सदस्यता प्राप्त गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, प्रेस यूनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल ट्रेड यूनियन काँग्रेसका उपमहासचिब केदार कोइराला, प्रेस यूनियनका पूर्व अध्यक्ष समीरजंग साह, प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, महासचिब अजयबाबु सिवाकोटी, नेपाल काँग्रेस सुनसरी क्षेत्र नं. २ का सभापति मणीराम श्रेष्ठल, प्रेस यूनियन सुनसरी अध्यक्ष गणेश निरौलागायतले पत्रकारिता क्षेत्रमा अहिलेको अवस्थाको समिक्षा गर्दै व्यवसायिक पत्रकारितामा जोड दिएका थिए ।
प्रेस यूनियनका पूर्वाञ्चल क्षेत्रीय संयोजक लिलाबल्लभ घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलामा पूर्वका नेपाली काँग्रेस निकट पत्रकारको सहभागिता रहेको थियो । साथै भेलामा नेपाल प्रेस युनियनका पूर्वका सभापतिहरुले जिल्लाको प्रतिवेदन बुझाउनुका साथै हुन लागेको नेपाल पत्रकार महासंघको नेतृत्वमा संगठनको सहभागिता गराउने विषयमा समेत छलफल गरेका थिए ।