चितवन/ वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गरे ।

चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न  आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्र । उनले चितवनको एउटा परिवारको अङ्गका रुपमा अर्ना ल्याएकोसमेत उल्लेख गरे । यसको संरक्षणका लागि सबै एकजुट हुनसमेत उनले आग्रह गरेकाछन् । सौराहामा अर्ना पुनःस्थापना कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले चितवन ल्याइएको ‘अर्ना हामी सबैको सम्पती हो’ भने । मन्त्री भण्डारीले हाल २० वटा अर्ना यहाँ ल्याउने स्वीकृत रहेको जनाउँदै अगामी दिनमा यसको सङ्ख्या बढ्दै जाने विश्वास व्यक्त गरे ।

कोसीमा दुई दिन लगाएर समाइएको एक जोडी अर्नालाई आज उहाँले रिवन काटेर ट्रकमा राखेर निकुञ्ज प्रवेश गराउनुभएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राति ०७:४५ बजे अर्नालाई खुला खोरमा लगेर छाडिएको छ ।

उनले कृष्णसार र बाह्रसिंगेलाई समेत चितवनमा ल्याउने तयारी गरिएको जानकारी गराए । यस्तै मन्त्री भण्डारीले चितवन राष्ट्रिय निकुञ्जलाई कसरी राष्ट्रिय उत्पादनमा उपयोग गर्न सकिन्छ र समुदायलाई लाभ हुन्छ भन्ने विषयमा वन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

फरक प्रसङ्गमा उनले चितवन निकुञ्जको जङ्गलबीचमा रहेको बाँदरझुला बस्ती स्थानान्तरणका लागि सरकारले निर्णय गरेकोसमेत बताए । कोसीबाट ल्याइएको अर्नालाई सौराहामा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए । थारु समुदायले आफ्नै पोसाकमा सजिएर अर्नालाई स्वागत गरेका थिए ।

-रासस