काठमाडौँ/ नारायणहिटी परिसरमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माणमा डेढ वर्ष ढिलाइ भएको छ । नेपाल सरकारको २०६९ साल मङ्सिर २२ गतेको निर्णयअनुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी विकोई स्काई बङ्गलामुखी ज्वाइन्ट भेञ्चर (विकोई विल्डर्स प्रालि, स्काई विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्ट्रक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिए पनि निर्धारित समयभन्दा डेढ वर्ष ढिलाइ हुन लागेको हो ।
कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिएपनि केही समय नेपाली सेनाको अवरोध, भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयभन्दा ढिला सम्पन्न हुन लागेको जानकारी दिए ।
उनले भने, “निर्धारित समयमा काम गर्न नपाएको, भूकम्प, नाकाबन्दी र बर्खाका कारणले गर्दा ढिला भएको हो गणतन्त्र दिवसको दिन राष्ट्रपतिको हातबाट उद्घाटन गराउँछौँ ।”
स्मारक निर्माणको सुरुको समयमा एकसय ५० कामदारले काम गरेपनि पछिल्लो समय ५० जनाले मात्र काम गर्दै आइरहेका छन् । ३५ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक सुरुमा सरकारले रु ३४ करोडको खर्च छुट्याए पनि खर्च बढेर रु ४० करोडभन्दा बढी पुगेको श्रेष्ठले बताए ।
निर्देशक श्रेष्ठले हालसम्म नेपाल सरकारसँग सम्झौता भएको सबै काम सकिएको र केही रङ्गरोगन गर्न बाँकी रहेको स्पष्ट पारे ।
-रासस