काठमाडौं/ बनेपा सडकलाई पुनः कालोपत्रे गर्ने भनि भएको कालोपत्रे उप्काइएको तर ९ महिना बित्दा पनि पुनर्निर्माण नगरेको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् । पनौति नगरपालिका–२ का स्थानीयले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनीहरुले शनिबारसम्मको लागि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित निकायलाई अल्टिमेटम दिएको तर माग पूरा नभएपछि आइतबारदेखि सो क्षेत्रमा यातायात बन्दको आह्वान गरेको बताएका छन् । संघर्ष समितिले यातायात व्यवसायीलाई सवारी साधन नचलाइदिन आग्रह गर्दै जबरजस्ती गरे हुन सक्ने क्षतिको जवाफदेही आफूहरु हुन नसक्ने जनाएको छ ।
उनीहरुले सडक पिच नहुँदासम्म दिनको तीन पटक पानी हाल्नुपर्ने, जोरबिजोर प्रणालीमा ट्रिपर सञ्चालन गरिनुपर्ने, तीब्ररुपमा सवारी हाक्न नपाइनेलगायतका ६ बुँदे माग अघि सारेका छन् । दिनुहँ उड्ने गरेका धूलोले स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।