भद्रपुर/ झापाका स्थानीय विकास अधिकारी खेमराज ओझासहितको कर्मचारी टोलीलाई स्थानीयबासीले लखेटेका छन् ।झापाको खुदुनाबारी १ र २ मा पर्ने विरिङ्ग नदीको निरीक्षण तथा अनुमगनमा गएको टोलीमध्ये आक्रोसित स्थानीयले मंगलवार दिउँसो स्थानीय विकास अधिकारी ओझा र वातावारणविद् ज्ञानेन्द्र चौधरीलाई लखेटेका हुन् ।स्काभेटर प्रयोग गरी नदीजन्य सामाग्री उत्खन्न गर्दा नदी आसपासका गाँउनै उच्च जोखिमका विषयमा जानकारी गराउँदा समेत जिल्ला विकास समिति झापाले यसतर्फ कुनै चासो नदेखाएको भन्दै सयौको संख्यामा उपस्थिती स्थानीयले कुनै पनि हालतमा विरिङ्गमा स्काभेटर प्रयोग गरी उत्खन्न गर्न नदिने भन्दै नाराबाजी समेत गरेका थिए ।

ठेकेदारले राष्ट्रपती चुरे अभियान विपरित नदीमा जथाभावी स्काभेटर सञ्चालन गरिरहेको बिषयमा स्थानीयले सोमवार जिल्ला विकास समितिमा धर्ना दिदै स्थानीय विकास अधिकारी ओझालाई समस्याको बारेमा जानकारी गराएका थिए । साँझ ठेकेदार पक्षले स्काभेटर लगाएर १० फिट खाडल पुर्न थालेपछि स्थानीयले त्यसको प्रतिकार गरेका थिए ।  प्रतिकार गरेपछि ठेकेदार पक्षसंग सामान्य झड्प भएको स्थानीय राम निरौलाले जानकारी दिए ।  एकदिन अघि ठेकेदारसंग स्थानीयको झडप भएकै कारण आक्रोसित स्थानीयले अनुगमनमा गएका कर्मचारीलाई खेदाई खेदाई लखेटेको निरौलाको भनाई छ । अनुगमनमा गएका टोलीलाई स्थानीयले नलेखेटेको भन्दै आफु घटना स्थलमै नरहेको स्थानीय विकास अधिकारी ओझाले बताए ।

अनुगमनमा पुग्दा स्थानीय उत्तेजित भई स्थिती केहि तनावग्रस्त मात्र भएको उनको भनाई छ । जिविसका कर्मचारी तथा वातावरणविद् ज्ञानेन्द्र चौधरीमाथी स्थानीयले आक्रमणको प्रयासमात्र गरेकोले भोली अनुगमन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्री सहितको टोलीले निरीक्षण गरि निश्कर्ष निकालिने ओझाको भनाई छ । ठेकदार सवै क्षेत्रमा पुग्न नसेकेपछि स्काभेटर चालकले कुनै स्थानमा बढी खनेको हुनसक्ने उनले बताए । स्थानीयद्धारा आक्रमणको प्रयास भई केहि तनावमात्र भएको प्रजिअ खत्रीले बताए । वुधवार भोली अनुगमन समितिको बैठक राखेर के भएको भन्ने विषयमा पुगिने उनको भनाई छ ।

झापाको उत्तर–दक्षिण बग्ने विरिङ्ग नदीसंग जोडिएका बुधवारे गाविसका १ देखि ५ नम्बर वडा, शनिअर्जूृन नगरपालिका ३, ५ र खुदुनाबारी गासिवका १, २ नम्बर वडाका करिब २ हजार हेक्टर जमिन नदी उत्खन्नले मरुभुमिमा परिणत हुने अवस्थामा पुगिसकेको स्थानीयबासी बताउँछन । नदीमा स्काभेटर प्रयोगले नहर, तथा पैनी सुक्दा सिचाई नहुनु साथै खानेपानीको पनि अभाव रहेको उनीहरुको गुनासो छ ।