सिरहा / प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काम गर्ने शैली परिवर्तन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले प्रहरीले काम गर्ने शैली परिवर्तन गर्नासाथ जनताले पनि प्रहरीप्रतिको धारणा बदल्ने बताए । सिरहाको गोलबजार नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको भवन शिलान्यास समारोहमा बोल्दै महानिरीक्षक अर्यालले प्रहरी आपैंm असुरक्षित हुँदा जनतालाई सुरक्षा दिन नसक्ने बताउँदै भवन बनाएर पहिले प्रहरीलाई नै सुरक्षित बनाउनुपर्नेमा जोड दिए । उनले देशभर जहाँजहाँ प्रहरी कार्यालयको भवन छैनन्, त्यहाँ अविलम्व भवन निर्माण गर्न पहल जारी राखेको समेत बताएका थिए । भवन शिलान्यास गरेपछि बोल्दै महानिरीक्षक अर्यालले नेपाल सरकारको २ करोड ९० लाख रुपैयाँ लागतमा गोलबजारमा सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी गराए । उनले भने, ‘ठेक्का २ करोड ९० लाखकै लागेको हो । तर तत्काल काम शुरु गर्न ३१ लाख बजेट निकासा दिइएको छ । काम तिब्र गतिमा अगाडि बढ्छ ।’ प्रहरी निरीक्षकको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय हाल गोलबजारस्थित भाडाको घरमा सञ्चालनमा छ । उक्त भवन पनि जीर्ण भइसकेकोले प्रहरी आपैंm असुरक्षित बनेको इन्स्पेक्टर राजेन्द्र उपाध्यायले बताए । भवनको लागि १० करोडको जग्गा दान प्रहरी भवन निर्माणका लागि गोलबजार–६ का समाजसेवी रामप्रसाद साह सुडीले करीब १० करोड भन्दा बढी मूल्यको १० कठ्ठा जग्गा दान गरेका हुन् । गोलबजारमा जग्गाको मूल्य आसिएकोले जग्गा दान गर्न कसैले आँट गरेका थिएनन् । तर ८८ वर्षीय सुडीले प्रहरी भवनका लागि जग्गा दान गरेर धेरै ठूलो महानता देखाएको भन्दै प्रहरी महानिरीक्षक अर्यालले खुलेर प्रशंसा गरे । उनले दाता सुडीको छोराछोरीले समेत लाभ पाउने विश्वास व्यक्त गरे ।