धरान /  सरकारले माग सुनुवाई नगरेको भन्दै यातायात व्यवसायीहरुले आउँदो सोमबार कोशी अञ्चलभरी यातायात ठप्प पार्ने भएका छन् । सांकेतिक रुपमा गरिने बन्दलाई हल्का रुपले लिए माघ ३ गतेदेखि पूर्णकालीन ठप्प पार्ने चेतावनी शनिबारको पत्रकार सम्मेलनमार्फत् दिएका छन् । कोशी अञ्चलमा रहेका यातायात व्यवसायीहरुले १० सुत्रीय माग राख्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमार्फत् सरकारलाई पुष १० गते नै ज्ञापन पत्र बुझाएका छन् । उक्त ज्ञापन पत्र यातायात व्यवस्था कार्यालय काठमाडौंसहित प्रहरी प्रशासन, राजनीतिक दल, नागरिक समाजलगायतल प्रशासनहरुलाई बोदार्थ दिएका छन् । ‘माग सुनुवाई नभए सांकेतिक रुपमा पुष २५ गते कोशी अञ्चल भरी यातायात ठप्प पार्छौै ।’ आन्दोलनमा सम्बद्ध पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले भने । यातायात क्षेत्रमा अनेकन समस्याहरु व्याप्त रहेको बताउँदै त्यसलाई निरुत्साहित गर्नको लागि ऐन र निर्देशिका अनुसार नै सरकारले लागू गर्नु पर्ने तर्क यातायात व्यवसायीहरुको छ । ‘नत्र हामी माघ ३ गतेदेखि पूर्णकालीन रुपमा कोशी भरी यातायात थन्क्याएर राख्छौं ।’ यातायात व्यवसायी नन्दु लम्सालले भने । व्यवसायीहरुले कोशी अञ्चल यातायात व्यवस्थापन समितिको पूर्व सहमति बिना मेची र नारायणी अञ्चलका यातायात व्यवस्था कार्यालयले कोशी अञ्चलका पहाडी रुटमा गाडी सञ्चालन गर्न नपाउने, ब्याटिूबाट सञ्चालन हुने सवारीहरुलाई राष्टिू र सहायक राजमार्गहरुमा सञ्चालनमा पूर्ण रोक लगाइनु पर्ने, निजी तथा व्यवसायिक सवारीहरु दु्रत गतिमा बढिरहेकाले त्यका लागि थप सवारी दर्ता कार्य निश्चित समयसम्मका लागि रोक्नु पर्ने, सार्वजनिक सडकहरुमा चौपाया छाडेर भएको क्षतिको चालक वा सवारी धनीलाई भराउने कार्य पूर्ण बन्द गरिनुपर्ने लगायतका १० सुत्रीय माग राखेर ज्ञापन पत्र बुझाइएको कोशी बस व्यवसायी संघका उपाध्यक्ष श्याम कट्टेलले बताए । कोशीका ८ वटा यातायात व्यवसायीहरुले आन्दोलनको नेतृत्व गरिरहेका छन् । यसमा मजदुरहरुको साथ समर्थन रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चल उपाध्यक्ष लक्ष्मी बानियाले बताए । आन्दोलनमा मध्यपहाडी बस व्यवसायी संघ भोजपुर, संयुक्त बस व्यवसायी संघ धरान, सिद्धार्थ यातायात व्यवसायी संघ, पूर्व नेपाल यातायात व्यवसायी संघ विराटनगर, सप्तकोशी बस व्यवसायी संघलगायत संस्थाहरु रहेका छन् ।