धरान/क्रियाशील महिला पत्रकारको आयोजनामा ‘प्रदर्शन भ्रमण’ सम्बन्धी पाँचदिवसीय कार्यक्रम विहीबार इटहरीमा सम्पन्न गरेको छ । महिला पत्रकारहरुको साझा समस्या बुझ्ने उद्देश्यले प्रदर्शन भ्रमण कार्यक्रम गरिएको हो । कार्यक्रममा देशभरका क्रियाशील महिला पत्रकारहरु सहभागी थिए । कार्यक्रममा महिला पत्रकारहरुको अनुभव, अवस्था, चुनौती, र समस्याहरुको बारेमा छलफल भएको थियो । मंगलबारबाट सुरु भएको कार्यक्रममा पछिल्लो समय महिला पत्रकारहरुको सहभागिता ह्वात्तै बढेको भए पनि पत्रकारितालाई स्पष्ट बुझ्न नसक्दा समस्या भइरहेको संस्थाकी संस्थापक अध्यक्ष संगिता लामाले बताइन् । सहभागी महिला पत्रकारहरुले महिला पत्रकार सक्षम भए पनि अहिलेसम्म निर्णायक तहसम्म पुग्न नसकेको साझा धारणा राखेका थिए । कार्यक्रममा प्रेश चौतारी नेपालका केन्द्रीय सदस्य लिलाराज भट्टराईले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिता गराउने भनिए पनि व्यवहारिक रुपमा अघि बढ्न नसकेको बताए । महिला पत्रकारहरु आफै अघि बढ्नु पर्ने उनको तर्क थियो । पत्रकार उत्पादन तथा प्रवद्र्धन गर्नको लागि पे्रस काउन्सिल, नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस यूनियन, प्रेश सेन्टरले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको सस्थाका पदाधिकारीहरुले बताएका थिए । महासंघमा १० हजार ७७ जना सदस्यता मध्ये महिला पत्रकारको संख्या एकहजार ६ सय १३ जना रहेका छ । जसमध्ये पुर्वान्चलमा एकहजार ४ सय ४४ सदस्य मध्ये २ सय ४६ मात्रै महिला पत्रकारहरु रहेका छन् । सञ्चारमाध्यमहरुमा महिला पत्रकारहरुको क्रियाशीलता भए पनि उनीहरुले पाउने सेवासुविधा भने पाउन नसकेको साझा धारणा राखेका छन् । बेलाबेला महिला पत्रकारलाई धम्की गालीगलौज, राजनीतिक अस्थिरताको कारण महिला पत्रकारहरु समस्यामा रहेको बताएका थिए । डडेलधुरा, नवलपरासी, काठमाडौं, सिराहा, उदयपुर, इलाम, धनकुटालगायत जिल्लाबाट क्रियाशील महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।