century_bank_logoधरान/ धरानस्थित सेन्चुरी बैङ्कको शाखा कार्यालयमा कीर्ते कागज बनाएर करोडांै रकम घोटाला गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घोटालाको विषयमा छानविन अगाडि बढाउन निर्देशन दिएपछि धरान प्रहरीले घोटालामा संलग्नहरुलाई पक्राउ गर्न थालेको हो । बैङ्कमा कीर्ते कागज बनाएर करोडांै रकम घोटाला गरेको विषयमा ब्लाष्टले निरन्तर समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि राष्ट्र बैङ्कले पनि अनुसन्धान थालेको थियो । राष्ट्र बैङ्कको कारवाहीबाट बँच्न बैङ्कका सञ्चालकहरुको दबावमा तत्कालीन सुन जाँचकी कुमार श्रेष्ठमाथि कारवाहीको माग गर्दै बैङ्कले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको थियो । तल्लो स्तरका कर्मचारीले मात्रै करोडौं घोटाला गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै धरान प्रहरीले सिबीआईको सहयोग मागेको थियो । सीबीआईले राष्ट्र बैङ्ककै विज्ञको सहयोगमा छानविन र कारवाही अघि बढाउन आदेश दिएपछि धरान प्रहरीले विज्ञको रायअनुसार तत्कालीन शाखा प्रमुख निखिल श्रेष्ठ, सुन जाँचकी कुमार श्रेष्ठ, ऋणीहरु सञ्जयसिं राई र विशन शाक्य लगायतको खोजी गरेकोमा हालसम्म निखिल श्रेष्ठ बाहेक सबै समातिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जनाएका छन् । ऋणिहरु सञ्जयसिं धरान–९ स्थित पुतलीलाइनमा रहेको इम्मानुयल ज्वेलर्सका सञ्चालक हुन् भने शाक्य धरानका सुनचाँदी व्यवसायी हुन् । सुन कर्जामा गरिएको लगानीमा बिनाधितो नक्कली कागजात बनाएर झण्डै १० करोड रूपैयाँ केही सीमित सुन व्यवसायीलाई लगानी गरिएको ब्लाष्टले सप्रमाण समाचार प्रकाशित गरेको थियो । ब्लाष्टमा निरन्तर समाचार प्रकाशित भएपछि बैङ्कको धरान शाखाका कर्मचारी र घोटाला प्रकरणमा मुछिएका व्यवसायी तथा उनीहरुनिकट केही सञ्चारकर्मीले घटना ढाकछोप गर्न निकै कोशिस गरेका थिए । स्मरणरहोस्, सेन्चुरी बैङ्क घोटालाको विषयमा सूचना दिने स्रोतले केही सञ्चारकर्मीलाई सूचना र प्रमाण दिएपनि उनीहरुले सो विषयमा समाचार लेखेका थिएनन् ।