दमक/ नेपाल जेसीजका राष्ट्रिय अध्यक्षमा दमकका युवा प्रकाश अधिकारी निर्वाचित भएका छन् । काठमाडौँको धापासीमा भएको जेसीजको ४३ औँ राष्ट्रिय महाधिवेशनबाट अधिकारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् ।
मङ्सिर २५ गते शुरु महाधिवेशनमा मङ्गलबार राति भएको निर्वाचनको मतपरिणाम बुधबार राति ८ बजेपछि सार्वजनिक भएको थियो । अधिकारी दमक जेसीजका अध्यक्ष, राष्ट्रिय कार्यकारी उपाध्यक्ष हुँदै सन् २०१७ का लागि राष्ट्रिय अध्यक्ष बनेका हुन् । उनले धरान जेसीजका विष्णु बराललाई ३५ मतको अन्तरले पराजित गरेका हुन् ।
अधिकारीले ६ सय ५७ र बरालले ६ सय २२ मत ल्याएका थिए । बराल जेसीजका बहालवाला महासचिव हुन् । दमक जेसीज धरान जेसीजको मातृशाखा हो । निर्वाचनबाट देशभरका चार कार्यकारी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित भएका छन् । जसमा पूर्वबाट विराटनगरका कैलाश खाकी श्रेष्ठ कार्यकारी उपाध्यक्ष तथा उपाध्यक्षमा झापाको बुधबारेका अतुल प्रसाईं, तरहराका भीम गिरी, दुहबीका सन्तोष रौनियार र झुम्काकी मञ्जरी घिमिरे छन् ।