बिर्तामोड/सरकारी कर्मचारीहरुले तोकिएको समयभरि कार्यालयमा बसेर काम गर्नुपर्छ तर झापामा नेतृत्व तहका अधिकांश कर्मचारी समयभरि कार्यालयमा बस्दैनन् ।कार्यालय समयमा उनीहरु कि त कुनै राजनीतिक दलको सभामा भाषण गरिरहेका हुन्छन् कि त कुनै सङ्घ–संस्थाको साधारणसभा वा अन्य कार्यक्रममा रिबन काटिरहेका भेटिन्छन् ।
अधिकृत तहका एकजना कर्मचारीलाई सरकारले दिनको सरदर १५ सय रुपैयाँसम्म तलब दिन्छ । कार्यालय समयमा सेवा लिन आउने सेवाग्राहीको लगानी त झन् महत्वपूर्ण हुन्छ । उनीहरु महिनौँदेखि सरकारी कार्यालयमा धाइरहेका पाइन्छन् तर जिम्मेवार तहमा बसेका कर्मचारी कुनै जिम्मेवारीबोधविना भाषण छाँट्दै हिँडेका हुन्छन् ।ड्रिम्स वल्र्ड इन्टरटेनमेन्टले बुधबार बिर्तामोडमा आयोजना गरेको उद्घाटन कार्यक्रममा झापाका सहायक जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारी, देवी उच्च माविका प्रमुख लेखनाथ भट्टराई र बिर्तामोडका डीएसपी केशवकुमार थेवे अतिथि थिए । सहायक जिल्ला शिक्षा अधिकारी भण्डारी त रिबन काटेर उद्घाटन गर्नसमेत भ्याए । झापामा यसैगरीे सयौँ कर्मचारीको दैनिकी रिबन काटेर बित्ने गरेको छ । सरकारी तलब बुभ्mनेहरूले जनतालाई सेवा दिन छाडेर उद्घाटन र भाषण गर्न थालेपछि उनीहरुका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।
जुनसुकै संस्था भए पनि सरकारी कर्मचारीलाई अतिथि नबनाई गरिने कार्यक्रम नै अपूरो हुने बुझाइ झापाका नागरिकमा बढ्दै गएको छ ।केही समयअघि डीएसपी खड्गबहादुर खत्री बिर्तामोडको इलाका प्रहरी कार्यालयमा हाजिर भए । शुरुका दिनमा मञ्चमा गएर भाषण गर्दा उनी निक्कै अकमकाउँथे । १३ महिना यहाँ बस्दा उनी एक कुशल भाषणबाज भएर बिदा भए । झापाको समाजले सरकारी तलबधारी कर्मचारीलाई नेता बनाउने होडबाजी नै चलाएको यस्ता घटनाबाट थाहा हुन्छ । झापामै कतिपय विद्यालय कृत्रिम विद्यार्थी देखाएर सञ्चालन भइरहेका छन् । वर्षमा २ सय २० दिन खोल्नुपर्ने विद्यालयको अनुगमन गर्नुपर्ने कर्मचारीहरु रिबन काट्न व्यस्त भएपछि राज्यको सबैभन्दा धेरै लगानी रहेको शिक्षा क्षेत्र डामाडोल छ ।
सहायक जिल्ला शिक्षा अधिकारी भण्डारी मनोरञ्जनात्मक कार्यक्रममा ‘प्रमुख अतिथि’ भएपछि यो समाचार लेख्न फोन गर्दा उनी अर्काे कार्यक्रममा व्यस्त थिए । उनले भ्याएसम्म बोलाएका कार्यक्रममा अतिथि हुन जाने धारणा राखे ।बिर्तामोडका डीएसपी केशव थेवेले दिनको तीनवटासम्म कार्यक्रममा ‘आतिथ्यता’ ग्रहण गर्न भ्याउने गरेको बताए । उनले प्रहरीसँग सम्बन्धित कार्यक्रम भएमात्र आपूmले आतिथ्यता ग्रहण गर्ने दावी गरे तर बुधबारको मनोरञ्जनसम्बन्धी कार्यक्रममा पनि उनी विशेष अतिथि थिए । उनले भने, ‘आयोजकले पत्र पठाउँछन्, फेरि फोन गरेर बोलाउँछन् ।
कसरी नजानु ?’ आयोजकको मन राखिदिन भए पनि असम्बन्धित कार्यक्रममा जानुपर्ने बाध्यता रहेको उनले बताए ।एमालेका झापा अध्यक्ष चिन्तन पाठकले कर्मचारीलाई नेता बनाउने गलत परिपाटी झापामा हुर्किंदै गएको धारणा राखे । उनले कार्यालय समयभित्र कर्मचारीले बाहिर जानुपरे काममा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए । यो विषय पार्टीमा पनि छलफलमा उठेको बताउँदै पाठकले चाँडै एमालेको ध्यानाकर्षण गराउने बताए ।