इनरुवा/कोशी बाढीपीडित क्षेत्रका नागरिकहरुलाई जाडो छल्न समस्या भएको छ ।

केही दिनयता बढेको चिसोका कारण बाढीपीडित क्षेत्रका बालबालिका तथा वृद्धवृद्धाको अवस्था दयनीय हुँदै गएको स्थानीय कोशी बाढीपीडित सामुदायिक संस्थाका अध्यक्ष धिरेन्द्र पाठकले बताए । खास गरी सुनसरीको हरिपुरस्थित सुकुम्बासी बस्तीका साथै श्रीपुर, पश्चिमकुशाहालगायतका कोशी क्षेत्रमा बसोवास गर्ने कोशीपीडितहरुलाई न्यानो कपडाको अभावमा जाडो छल्न समस्या भएको हो । सप्तकोशी नदीले २०६५ साल भदौ २ गते पूर्वी तटबन्ध भत्काउँदा घरबारविहीन भएका हरिपुर, श्रीपुर र पश्चिमकुशाहाका बासिन्दा अहिले समस्यामा परेका हुन् ।
सुकुम्बासी बस्तीको मात्र नभई कोशीबाट विस्थापित हजारौँ पीडितको गुनासो यस्तै छ । गर्मीमा बालुवाको ताप र चिसोमा शीतलहरको पीडा खप्नु परेको कोशीपीडितहरुको गुनासो छ । आयस्रोतको गतिलो माध्यम नभएका उनीहरुसँग न्यानो कपडा पनि छैन । सो क्षेत्रमा अहिले झण्डै १२ हजार बालबालिका छन् । बाढीबाट विस्थापित भएका सुकुम्बासीहरुको पुनःस्थापनाका निम्ति हरिपुर–२ मा सरकारले बनाइदिएको घर पनि अहिले बस्नयोग्य नभएको स्थानीयले गुनासो गरेका छन् ।
अर्को घर बनाउन आपूmहरुसँग पैसा नभएकोले जाडो छल्न समस्या भएको उनीहरु बताउँछन् । युएन ह्याबिटेटको सहयोग तथा लुमन्ती, नेपाल बसोबास बस्ती संरक्षण समाज र नेपाल सरकारको संयुक्त साझेदारीमा बाढीपीडित २ सय २५ घरपरिवारलाई प्रतिपरिवार टिनको छाप्रोसहित बालुवाले पुरिएको दुई कठ्ठा जग्गा प्रदान गरिएको थियो । सुनसरी जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढीबाट प्रभावित १४ सय २२ परिवारका लागि हरिपुर–१ र २ मा २९ बिघा ६ कठ्ठा जग्गा खरीद गरी घर निर्माण गरेको थियो ।
सरकारले हरिपुरमा बनाएको सुकुम्बासी बस्तीमा न विद्युत् उपलब्ध छ, न त नजिकमा विद्यालय नै छ । त्यस क्षेत्रमा रोजगारको सिर्जना हुन नसक्दा सरकारले बनाइदिएको घर मर्मत–सम्भार गर्नसमेत समस्या भएको अध्यक्ष पाठकले बताए । हरिपुर–२ की जहरीदेवी सदाले जग्गा र घर पाउँदा सजिलो भए पनि अहिले घर बस्नलायक नभएकोले जाडो काट्न समस्या भएको बताइन् । हरिपुरका सुकुम्बासीहरूलाई जीविकोपार्जन गर्न पनि समस्या भएको अध्यक्ष पाठकले बताए । समयअघि नै बढेको अत्यधिक चिसोलाई ध्यान दिएर तत्कालै विकल्पको खोजी हुनु जरुरी भइसकेको उनको भनाइ छ ।