ताप्लेजुङ/भारतीय सरकारले ठूला दरका भारतीय नोटमा बन्देज लगाएपछि पूर्वमा ठप्प बनेको अलैंचीको कारोबार पुनः शुरु भएको छ ।नेपाल अलैंची व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार भारु पाँच सय र एक हजारको नोट सटही गरी भारतीय व्यापारीले रकम जोहो गरेकाले पुनः अलैँचीको कारोबार शुरु भएको हो ।
नोटमा बन्देज लगाएपछि भारतीय व्यापारीले प्राविधिक कारण देखाउँदै अलैंची किन्न नआएपछि नेपालका व्यवसायीले सूचना निकालेरै कारोबार ठप्प पारेका थिए । अहिले झापाको बिर्तामोडमा प्रतिमन ५४ हजार र ताप्लेजुङमा ५२ हजारमा अलैँचीको कारोबार भइरहेको व्यवसायीहरुले बताएका छन् ।यसअघि अलैंची कारोबार ठप्प हँुदा सबैभन्दा बढी अलैँची उत्पादन हुने ताप्लेजुङसहित, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा लगायत पूर्वका किसान मारमा परेका थिए ।
अलैँची कारोबार गर्ने समयमा नोट प्रतिबन्ध भएपछि अलैँची निर्यात १० प्रतिशतमा सीमित भएको थियो ।कृषिजन्य वस्तुमध्ये सबैभन्दा महङ्गोमा भारतीय बजारमा बिक्ने अलैंची हो । नेपालमा वार्षिक करीब पाँच हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । यसको ९८ प्रतिशत भारत निर्यात हुन्छ ।