Poverty_Loanकाठमाडौं/सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरीब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । गरीब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराए ।

उनले गरीबको पहिचान गरी परिचयपत्र बनाउने प्रक्रिया शुरु गरिसकिएको जानकारी गराउँदै भने, ‘सबै तयारी पूरा गरेर परिचय बनाउने कार्य हुँदैछ । अब चाँडै मन्त्रिपरिषद्बाट परिचयपत्र बाँड्ने निर्णय गर्छौं ।’गरीब परिवारको पहिचान गर्न पहिलो चरणमा सरकारले जुम्ला, हुम्ला, मुगु भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बाजुरा र बझाङ जिल्लामा गई सर्वेक्षण गरेको थियो । यसैगरी गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, कालीकोट, कैलाली र कपिलवस्तुमा पनि सर्वेक्षण गरिएको थियो ।

बोर्डले पहिलो चरणमा ती २५ जिल्लाबाट १२ लाख ४० हजार ३ सय ५० घरघुरीको सर्वेक्षण गर्दा तीन लाख ३६ हजार ४१८ घरपरिवार गरिबीको रेखामुनि रहेको पहिचान गरेको हो । मन्त्री थानीले ती जिल्लामा गई परिचयपत्र वितरण गरिने बताउँदै ती पहिचान गरिएका गरीबलाई आयमूलक र सीपमूलक शिक्षा दिएर आत्मनिर्भर गराइने बताए । उनले चालू आवमा बाँकी रहेका ५० जिल्लामा गरिबी पहिचान गरी काम शुरु हुने जानकारी गराउँदै अर्को वर्षसम्म सबै गरिबलाई परिचयपत्र वितरण गरिने बताए ।