रामपुर (पाल्पा)/रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय सुरु गरेका छन् ।

आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि रु १० लाखको लगानीमा बाख्रा पालन सुरु गरेकाे हाे ।
उनको फार्ममा अहिले स्थानीय जातका ५० वटा बाख्रा छन् । पाठापाठी बेचेर वर्षमा रु चार लाखसम्म आम्दानी गर्ने भट्टराईले भने,“कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या प¥यो”—“यहाँ आएर बाख्रापाल्न थालेपछि महिनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ । ”
आफ्नै करिब तीन रोपनी जग्गामा व्यवसाय चलाएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दसैँमा मात्र उनले ३२ वटा पाठापाठी बेचेर एक लाख रुपैया बराबरको आम्दानी गरे । व्यवसायका लागि केन्द्रीय भेँडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत एक लाख रुपैया र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरिदका लागि ६ हजार रुपैया अनुदान पनि प्राप्त गरेका छन् ।
दुई सय वटा बाख्रापालेर वार्षिक ६ लाख रुपैया भन्दा बढी आम्दानी गर्ने सोच बनाएका उनले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हुँदा दिगो रुपमा व्यवसाय गर्ने अठोट गरेका छन् । रासस