चितवन/शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताएका छन् । technical स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताए । प्राविधिक शिक्षा पढाइका लागि कहाँ कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा गुरुयोजना निर्माणको काम भइरहेको उनले उल्लेख गरे । प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको भन्दै उनले परिस्थितिअनुसार पाठ्यक्रम स्तरीय बनाउँदै लगेर अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने विचार व्यक्त गरे । आवश्यक मात्रामा शिक्षक, प्राध्यापकको दरबन्दी र भौतिक संरचना अभाव रहेको भन्दै मन्त्री पौडेलले यसको व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर रूपमा गृहकार्य गरिरहेको बताए । कार्यक्रममा स्कुल अफ हेल्थ साइन्सका प्रिन्सिपल अच्युतराम दाहालले कलेजको गुरुयोजना, समस्या, सम्भावना र अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरे । रासस