तरहरा/पार्टी नेतृत्व र सरकारप्रति काङ्ग्रेसका अगुवा कार्यकर्ताहरु रुष्ट छन् । सरकारमा रहँदा जनपक्षीय काम गर्न नसकेको भन्दै अगुवा कार्यकर्ताहरु रुष्ट बनेका हुन् । पार्टीसमेत गुटबन्दी, नातावाद र चाकडीवादभन्दा पर जान नसकेको भन्दै अगुवा कार्यकर्तामा समेत निराशा छाउन थालेको छ ।
काङ्ग्रेस नेतृत्वको सरकार आलोचित र केन्द्रीय नेताहरु पनि बढी आलोचित हुने गरेको भन्दै अगुवा कार्यकर्ताहरु अहिले आप्mनै पार्टीको खुलेर विरोध गर्छन् । इटहरीस्थित जनता क्याम्पसका नेविसङ्घका विद्यार्थी नेता विनय बाराकोटी नेतृत्वका कारण सम्पूर्ण काङ्ग्रेसमा कलङ्क लागिरहेको बताउँछन् । काङ्ग्रेसभित्रको वैदेशिक कुटनीति र आन्तरिक एकतामा देखिएको कमजोरीका कारण कार्यकर्ता तथा जनतामा निराशा पैदा भएको उनको तर्क छ ।
‘देशलाई नेतृत्व दिनुपर्ने बेला कुनै दलको पछाडि लागेर सत्ताको खेलमा रुमल्लिनु काङ्ग्रेसको लागि घातक हो ।’ बाराकोटीले भने । पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको उनको बुझाइ छ ।काङ्ग्रेस सुनसरी–२ का क्षेत्रीय सचिव रमेशकुमार पोखरेल पनि पार्टी नेतृत्वप्रति खुसी छैनन् । ‘नेताहरुले नेतृत्व आपैmँ शक्ति भएको महसुस गरिरहेका छन् तर यो कदापि हुन सक्दैन’, उनले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा नेताहरु भागेर टाढा जान सक्ने अवस्था हुन्न, पुनः कार्यकर्ताको शरणमा आउनैपर्छ ।’
नेताहरुले समयअनुसार देश विकासको विषयमा नबोलेको उनले बताए । काङ्ग्रेस नेतृत्वले जनताका कुरा सुन्ने सामथ्र्य विकास गर्नुपर्ने उनको बुझाइ छ । जनताका भावना नबुझ्ने नेता असफल भएका उदाहरण प्रशस्त भएको उनको तर्क छ ।नेपाल विद्यार्थी सङ्घका सुनसरी सचिव मन्दिप भट्टराईले पनि लामो समयदेखि पार्टीभित्र सङ्घर्ष गरेका शेरबहादुरले पार्टीलाई सशक्त बनाउने आशा निराशामा परिणत भएको बताए । सरकारमा रहँदासमेत काङ्ग्रेसले सशक्त काम गर्न नसकेको उनको आरोप छ । पार्टी गुटबन्दी, नातावाद र चाकडीवादमा फँसेर जनतामाझ पुग्न नसकेको उनको निष्कर्ष छ ।
नेतृत्वकै कारण कार्यकर्ताहरुमा निराशा पैदा भएको बताउँदै उनले सङ्गठनलाई बलियो बनाउन नसकेको आरोप लगाए । यस्तै नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य नुनुता राईले पनि काङ्ग्रेसलाई गुटबन्दीले गाँजेको बताइन् । पार्टीलाई सुधार्न गुटबन्दी अन्त्य हुनुपर्ने उनको निष्कर्ष छ । गुटबन्दीकै कारण कार्यकर्तामा निराशा छाएको उनी बताउँछिन् । काङ्ग्रेसका अधिकांश अगुवा कार्यकर्ता नेतृत्वलाई सुध्रिन सुझाव दिन्छन् ।