ताप्लेजुङ /गत साउनमा बाढिले बगाएको ताप्लेजुङको दोभानस्थित तमोर नदी माथिको निर्माणाधिन मोटरेवल पुलको काम अझै सुरु हुन सकेको छैन । साढे छ वर्ष अघि तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङद्वारा शिलन्यास भएको सो निर्माणधिन पुल साउन १ गते विहान आएको बाढिले बगाएको थियो ।
कन्काई इन्टरनेशनल विल्डर्स कम्पनीले निर्माणको जिम्मा लिएको सो पुल वर्षाको समयमा निर्माण सुरु गरेकाले बगाएको र अहिले हिउँदमा समेत पुन काम नगर्दा पुलको भविश्य अन्योलमा परेको स्थानियको भनाई छ । कुल १० करोड ३५ लाख ९८ हजार रुपियाँ बराबरको लागतमा निर्माण हुँदै आएको ७५ मिटर लम्बाई रहेको पुलको निर्माण कार्य ५० प्रतिशत बढी सम्पन्न भएको थियो । आधा काम सकिएको पुल बगाए पनि मंसिर अन्त्य देखि पुन काम सुरु गर्ने बताएको सो कम्पनिले अझै काम सुरु गरेको छैन । क्षेत्र नंबर १ र २ जोड्नेगरी निर्माण हुँदै आएको जिल्लाकै महत्वपुर्ण मानिएको सो पुल निर्माणमा कम्पनिले लापरबाहि गर्दा जिल्लाले ठुलो क्षति बेहोर्नु परेको क्षेत्रनंबर २ बाट निर्वाचित संसद डम्बरधोज तुम्बाहाम्फेले बताए ।
केहि महिना अघि पनि कम्पनि र ठेकेदार विच चाँडै काम सुरु गर्ने विषयमा सहमति भएकाले अब केहि दिनमानै काम सुरु गर्ने आफुलाई आस्वासन दिएको उनको भनाई छ । सो पुल निर्माण सम्पन्न भए सुनसरी धरानदेखि धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभा गुफा पोखरी हुँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्म छोटो सडक मार्गले जोड्न सकिने उत्तर दक्षिण ओलाङ्चुङ्गोला लोकमार्गका प्रमुख ईन्जिनियर कुबेर नेपालीले बताए । पुल निर्माण सम्पन्न भए पछि कोशी सडक मार्गमार्फत यहाँबाट तराईको जिल्ला सुनसरी पुग्नलाई मेची राजमार्ग भन्दा झण्डै ६३ किलोमिटर छोटो दूरी पर्ने नेपालिको भनाई छ ।