भद्रपुर/झापाको उत्तरी क्षेत्रमा रहेको बाहुनडाँगी वर्षौंदेखि हात्तीप्रभावित क्षेत्रका रुपमा परिचित छ । भारतको खर्साङ डिभिजन वनअन्तर्गत कोलाबारी वन हँुदै मेची नदी पार गरेर दैनिक बाहुनडाँगीका विभिन्न गौंडाबाट छिरेका हात्तीले अकालमा धेरैको ज्यान लिइसकेका छन् ।बाह्रै महिना आउने हात्ती प्रायः धान र मकै पाक्ने समयमा लस्करै भएर आउने गरेका कारण अन्नबाली र मान्छेलाई समेत मासेर उद्दण्डता मच्चाइरहेका छन् ।
मुख्यगरी बाहुनडाँगी र शान्तिनगरका बासिन्दाले जानेसुने जति सबै उपाय अपनाए पनि सफल हुन सकेका छैनन् । हात्तीको उपद्रो निरन्तर छ । हात्तीको रोकथामका लागि नेपाल सरकारले पनि हरेक उपाय लगायो तर हात्तीको प्रवेशमा कुनै कमी हुन सकेन ।हात्ती रोक्न पछिल्लो समयमा इलामको जिर्मले गाविस–३ दूधे खोलादेखि झापाको मेचीनगरपालिकाको वडा नं. १० सम्म १८ किलोमिटरमा जडान गरिएको विद्युतीय तारबारलाई विश्व बैङ्कले दिएको भन्सार शुल्कसहित डेढ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भए पनि त्यो औचित्यहीन भयो । समुदायमा आधारित मानव–हात्ती द्वन्द्व व्यवस्थापन परियोजनाअन्तर्गत जिल्ला वन कार्यालयको अगुवाइमा सम्पन्न भएको थियो । सोलारबाट जडान गरिएको तारमा हात्तीले छुनेबित्तिकै आठ हजार भोल्टको करेन्टले हात्तीलाई झड्का दिएसँगै ठाउँठाउँमा राखिएका साइरन बजेपछि हात्ती प्रवेश गरेको सङ्केत स्थानीयले पाउने भनिए पनि विद्युतीय तारबारले हात्तीलाई रोक्न सकेन । त्यस क्षेत्रका मानिस ज्यानको माया मारेर आप्mनो बाली जोगाउन रातभर अनिँदो बसे पनि हात्तीको प्रवेशले गाउँलाई आतङ्कित बनाइरहेको छ । हात्तीको उपद्रोले झापामा धनजनको क्षति जारी छ ।
जिल्ला वन कार्यालयको अभिलेखमा हालसम्म हात्तीले २७ जनाको ज्यान लिइसकेको उल्लेख छ । ज्यान गुमाउने परिवारका सदस्यलाई राहत र भौतिक क्षतिपूर्तिस्वरुप गत असोज मसान्तसम्म २ करोड ५ लाख ९२ हजार ७ सय ४ रुपैयाँ वितरण गरिसकेको सहायक जिल्ला वन अधिकृत देवेन्द्र उप्रेती बताउँछन् । यसमध्ये मृतक परिवारलाई राहतस्वरुप साढे ६३ लाख र बाँकी क्षतिपूर्तिबापत दिइएको अधिकृत उप्रेतीले बताए । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६६ जारी भए पनि ०६९ बाट पूर्ण रुपमा क्षतिपूर्ति तथा राहत वितरण शुरु भएको उप्रेतीको भनाइ छ ।
पहिलोपटक जारी भएको निर्देशिकाअनुसार मृतकका परिवारलाई डेढ लाख, ०६९ को निर्देशिकाअनुसार ३ लाख र ०७२ को दोस्रो संशोधनबाट प्रतिव्यक्ति ५ लाख दिने प्रावधान राखिएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग भन्ने शीर्षकमा रकम निकासा हुने उनको भनाइ छ । उप्रेतीले दिएको विवरणअनुसार ०६७ भदौदेखि ०६८ पुससम्म ९ जनाले ज्यान गुमाए । तिनका परिवारलाई साढे १३ लाख वितरण गरिएको छ जसमा शान्तिनगर–१ का दुईजना, पृथ्वीनगर–५ र ८ का तीन जना छन् । यसैगरी गरामनी–२, बुधबारेका ९, खुदुनाबारी–५ र सुरुङ्गा–१ का एक÷एकजनाले ज्यान गुमाएका छन् । यस्तै ०६९ साउनदेखि ०७० भदौसम्म १० जनाको मृत्यु भएको छ । त्यस अवधिमा २४ लाख रुपैयाँ राहतस्वरुप वितरण गरिएको छ । बुधबारे–९ र ५ का तीन, पृथ्वीनगर–५ र १ का दुई, शान्तिनगर–१ का दुई, बाहुनडाँगी–३, अर्जुनधारा–३ र धाईजन–८ का एक÷एकजनाको मृत्यु भएको छ ।
यसैगरी ०७१ जेठदेखि असोजसम्म बाहुनडाँगी–३ र बालुवाडी–६ का दुईजनाले ज्यान गुमाए । प्रतिव्यक्ति ३ लाखका दरले ६ लाख वितरण गरिएको छ । ०७२ वैशाखदेखि फागुनसम्म दमक–५, बनियानी–७, मेनपा–४ र पृथ्वीनगर–२ का गरी चारजनाको ज्यान गएको छ । त्यसबापत २० लाख राहत वितरण गरिसकिएको उनले बताए ।गत कात्तिक १३ मा गरामनी–४ का जयनारायण अधिकारी र २२ गते बाहुनडाँगी–२ का मनोहरि ढुङ्गेललाई राहत दिने प्रक्रियामा रहेको उनले बताए । यसैगरी ०६८ देखि ७३ कातिक २९ सम्म हात्तीको आक्रमणबाट सामान्य ९ र सख्त २५ जना घाइते भएको कार्यालयको अभिलेखमा उल्लेख छ ।
घाइतेलाई नियमअनुसार रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।घटनापछि पीडितले पेश गरेको कागजातका आधारमा छलफल गरी क्षेत्रीय वन निर्देशनालय पठाइने र त्यहाँबाट रित पुगेर आएपछि मृतकको घरमै गएर राहत वितरण गर्ने गरिरहेको उनले जनाए । मृतकको नाम खुलाउँदा पीडामाथि झन् पीडा हुने भएकाले नाम सार्वजनिक नगर्न उनले अनुरोध गरे । अहिले झापाका भद्रपुर, चन्द्रगढी, केन्द्रमोड, धनुषमोडलगायतका क्षेत्रमा हात्तीको बिगबिगीबाट स्थानीय त्रसित बनेका छन् । यी क्षेत्रमा मानवीय घटना नभए पनि घर, गोठ, अन्नबालीमा नोक्सान पु¥याउँदै आएको छ ।