arjun विराटनगर/सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले दलहरुको सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने गृहकार्य अन्तिम चरणमा पुगेको बताएका छन् । विराटनगर विमानस्थाल आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले समयमै निर्वाचन गराउन पनि संविधान संशोधन प्रक्रिया जतिसक्दो चाँडो अगाडि बढाउनु आवश्यक रहेको बताए ।

आगामी २०७४ साल माघभित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने भएकाले संविधान संशोधनका लागि धेरै ढिलाइ गर्न नहुने उनकाे भनाइ थियो ।मन्त्री केसीले आन्दोलनरत दलहरुको मागलाई सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयनमा मुख्य दलहरु एक भएर अघि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री केसीले कांग्रेस, एमाले तथा नेकपा माओवादी केन्द्रको सहयोगमा संविधान जारी भएकाले नेकपा एमालेले पनि संविधान संशोधन प्रक्रियाबाट अलग रहन नहुने बताए । उनले अंगिकृत नागरिकताको विषयमा बाहिर आएको हल्ला बाहेक कुनै प्रसंग नचलेको र दलहरुबीचमा यो विषय विवादमासमेत नरहेको जिकिर गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावको विषयमा संसदमा छलफल चलिरहेकाले कांग्रेसले समय आएपछि सहि निर्णय लिने बताए ।