shree-jabegooइनरुवा/ सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले संविधान संशोधनको समस्या सहमति र सहकार्यको माध्यमबाट समाधान गरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र सुनसरीले आइतबार इनरुवामा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै राज्यमन्त्री जवेगूले संविधान संशोधन गरी मधेशी, आदिवासी, जनजाति, दलितको अधिकार समावेश गर्न ठोस सहमति, सहकार्य र छलफल भइरहेको बताए ।

मन्त्री जवेगूले मुलुकमा २ सय ४० वर्षको राजतन्त्र समाप्त भएर गणतन्त्र संस्थागत भएपनि स्थानीय निकाय १६ वर्षयता जनप्रतिनिधिविहीन हुँदा विकास–निर्माण कार्य ठप्प बनेकोले तत्काल निर्वाचनका लागि सम्पूर्ण राजनीतिक दल तयार हुनुपर्नेमा जोड दिए । जवेगुले राज्यको हरेक निकायलाई समानुपातिक समावेशी बनाएर राज्य पुनःसंरचना गरिनुपर्ने बताए ।

मुलुकबाट दैनिक १७ सय युवा विदेश पलायन हुने क्रम रोक्न सरकारले गाउँपालिकामार्पmत् एक करोड ५० लाखको नमूना बजेट युवाको आर्थिक विकासका लागि सञ्चालन गरिन लागेकोले यसले आर्थिक विकासमा मद्दत पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, पूर्व सांसद विश्व थारु, नेकपा माओवादी सुनसरीका इञ्चार्ज रामकुमारी चौधरी, जिल्ला संयोजक शारदा पोखरेल, सहसंयोजक पप्पु मण्डल लगायत जिल्लास्थित अधिकाङ्श सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।