
तरहरा/पूर्वी नेपालको विभिन्न स्थान जोड्ने हुलाकी पुल निर्माणमा चरम लापरवाही भएको पाइएको छ । ठेकेदार र हुलाकी आयोजनाको कमजोरीले गर्दा करोडौं रुपैयाँमा निर्माण भइरहेका पुलहरु समयमा सम्पन्न हुन सकेका छैनन् । निर्माण अवधि सकिएर पटक–पटक म्याद थप गरिएका झापाका आधा दर्जन पुलको काम अहिलेसम्म आधाउधी पनि भएको छैन ।निर्माण सम्झौता अनुसार काम नहँुदा सरकारको करोडौं रुपैयाँ अलपत्र हुन पुगेको छ ।
तर निर्माण गर्ने जिम्मेवारी पाएको हुलाकी राजमार्ग योजनाले भने ठेकेदारकै कारण समयमा पुल निर्माण हुन नसकेको भन्दै आपूm जिम्मेवारीबाट पन्छिने गरेको छ । हुलाकी सडक योजना इटहरीले लामो समयदेखि पुल निर्माणको ठेक्का पाएकाहरुले राजनीतिक पहुँच देखाउँदै समयमा काम नगरेको बताएको छ ।हुलाकी राजमार्ग योजनाका इञ्जिनियर उपेन्द्र दासले पुल निर्माण सुस्त गतिमा अगाडि बढेको स्वीकार गरे । उनी झापाका अधिकाङ्श हुलाकी पुल निर्माण ठेकेदारकै लापरवाहीले ढिलो भएको बताउँछन् ।
निर्माण छिटो गर्न बारम्बार कार्यालयबाट पत्र काटेपनि ठूला दलको पहुँच देखाउने गरेको उनको गुनासो थियो । दासले भने, ‘हामी त साना कर्मचारी, पत्र काट्न बाहेक केही सक्दैनौं, तर ठेकेदारहरुले पहुँच देखाउँदा के गरौं ?’झापामा मात्र पुरानो छ वटा पुल निर्माणाधीन अवस्थामा छन् । कन्काई पुल निर्माण सम्झौता सकिएको एक वर्ष पूरा भयो । तर, पुल निर्माणको काम भने बल्लतल्ल ४० प्रतिशत मात्र सम्पन्न भएको छ । पप्पु महादेव जेभी कन्ट्रक्सनले ३० करोड ४० लाख ९० हजार रुपैयाँ लागतमा २०७२ सालमै निर्माण सक्नु पर्ने पुल अहिलेसम्म बनेको छैन । बिरिङ खोलामा लामा–मैनाचुली निर्माण सेवा कम्पनीले ठेक्का पाएको थियो । यस्तै रामचन्द्रेको ठेक्का बोखिम–शान्ति निर्माण कम्पनीले पाएको थियो ।
गत जेठमा ठेक्का लागेको पुलको निर्माणका लागि अहिलेसम्म सुरसार भएको छैन । पुरानो पुलको काम लथालिङ्ग हुँदाहँुदै सात नयाँ पुल निर्माणको ठेक्का लागेपनि अहिलेसम्म काम शुरु भएको छैन । काजली, भलेसा, भुतनी, अदुवा, सानोमाई, लेरा, कलम खोल र कृष्णे खोलाको पुल निर्माणको ठेक्का लागेपनि काम शुरु नभएको हो । करोडौं रुपैयाँको आयोजनालाई सरकारले कडाइ गर्न नसक्दा ठेकेदारहरुले हेलचेक्राइँ बढेर सरकारको करोडौं लगानी बालुवामा पानीसरह भइरहेको छ । अधिकाङ्श कम्पनीका ठेकेदारले ढिलासुस्ती गर्दा समेत सरकारी पक्षले उनीहरुलाई कार्वाहीको दायरामा ल्याउन सकेको छैन ।