
तरहरा / खुला सिमानाको कारण भारतको विभिन्न सीमाहँुदै अवैधरुपमा पटका भित्रने क्रम रोकिएको छैन । तिहार लाग्दैगर्दा प्रहरीले पटका तथा विष्फोटजन्य बस्तुको किनबेचमा रोक लगाएपनि पूर्वी नेपालमा नियन्त्रण हुन नसकेको हो ।
विराटनगरस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयले विष्फोटक पदार्थ पटका लगायतका बस्तु किनबेचमा रोक लगाउँदै सीमा क्षेत्रमा कडा निगरानी गरिरहको बताएपनि धरान, इटहरी जस्ता पूर्वका मुख्य शहरमा बिक्री–वितरण भइरहेको छ । अवैधरुपमा भारतीय बजारबाट पटका भित्रिनबाट रोक्नका लागि राजमार्गमा भारतीय नाकाबाट आउने यात्रु तथा मालवाहक साधनमा कडा निगरानी तथा जाँच गरेको जनाएपनि चोरी बाटो प्रयोग गर्दै पटका भित्रिएको प्रहरी स्वीकार गर्छ । पूर्व क्षेत्रीय प्रहरी प्रवक्ता गङ्गाप्रसाद पौडेलले अवैध पटका रोक्न सीमा क्षेत्रमा कडाइ गरेपनि खुल्ला सिमाना हँुदै भित्रिने गरेकोले रोकथाममा चुनौति भएको बताए । उनले विभिन्न सीमा, इलाका तथा चौकीबाट अवैध पटका भित्रन नदिन निर्देशन दिइसकेको जनाए । तिहारमा नेपाली बजारमा पटकाको मूल्य धेरै पाइने भएको कारण अवैध बाटोहँुदै पटका आउने गरेकोले प्रहरीले विशेष अभियान थालिरहेको प्रवक्ता पौडेलको भनाइ थियो । थोरै समयमा धेरै फाइदा हुने भएकाले ब्यापारीहरुले अवैध बाटोहँुदै पटका भिœयाउने गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताउँछन् । लागूऔषधबाट भन्दा पनि धेरै फाइदा हुने भएका कारण खुल्ला सिमानाबाट पटका छिरिरहेको भन्दै उनले नियन्त्रण गर्न खुल्ला सीमा चुनौति बनिरहेको जनाए । खाद्यान्न लगायतका सामग्रीमा लुकाएर पटकाजन्य पदार्थ भित्रने गरेको जनाउँदै उनले वीरपुर प्रहरीसँग समेत समन्वय गरेर नियन्त्रणको प्रयास थालेको बताए । इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले इटहरी वरपरका क्षेत्रमा ठूलो मात्रामा पटका बरामद गरेको जनाए । उनले पुराना पटका ब्यापारीहरुको पहिचान गर्दै त्यस्ता सामग्री बरामद गरेको बताए । खुल्ला सीमाकै कारण पटका भित्रिएको हुनसक्ने उनको भनाइ थियो । इटहरीमा ठूलो मात्रामा पटका पक्राउ गरी कारोबारीलाई विष्फोटक पदार्थ ऐन २०१८ अन्तर्गत तेजबहादुर अधिकारी, पर्शुतम चौधरी, बद्रीनारायण चौधरीउपर मुद्दा दायर गरेको डिएसपी सुवेदीले जनाए । तिहारमा हुनसक्ने अवैध गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले अहोरात्र ड्युटी गरिरहेको सुवेदीको भनाइ थियो ।