काठमाडौँ/ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विशिष्ट राजनीतिक अवस्थामा संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुख्य तीन राजनीतिक दलको सहमतिका आधारमा निर्वाचनका प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे ।
मन्त्री महतले भने– “लोकतन्त्रमा सबैले विधिको शासनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ, त्यसका लागि सबै राजनीतिक दलले राजनीतिक सद्भाव र सहयोग गर्नुपर्छ ।
द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वार्थ र आवश्यकता सम्बोधन गर्न आफू लागिपरेको बताउँदै उनले मुलुकको हितमा विदेशी सहयोग तथा लगानी कसरी गर्न सकिन्छ भन्ने विषयमा दिनरात खटिरहेको बताए ।
नेपाली काँग्रेसका नेतासमेत रहनुभएका डा महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गरे ।
नुवाकोट मुलुकको राजधानी नजिक भएर पनि विकास नभएको भन्दै उहाँले शिक्षा, स्वास्थ्य एवम् विकासका विषयमा अग्रसरता लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङले नुवाकोटको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको भन्दै त्यसका लागि मिलेर अगाडि बढ्नुपर्ने बताए ।
पत्रकार समाजका अध्यक्ष दिनेश आचार्यले विकासका मुद्दामा सबै पक्ष एकमत भएमात्र नुवाकोटसहित समग्र मुलुक परिवर्तन गर्न सकिने भन्दै त्यसतर्फ लाग्न आग्रह गरे। कार्यक्रममा पछिल्लो पटक निजामती सेवा अधिकृतमा प्रवेश गर्ने नौजनालाई सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा नुवाकोटमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, कलाकार, उद्योगी व्यवसायी, खेलाडी, पत्रकार एवम् विशिष्ठ व्यक्तिहरुको उपस्थिती थियो । रासस