सप्तरी/ कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगका दर्जनौं बिघामा लगाइएको धानबाली नष्ट गरेको छ ।जङ्गली हात्तीको समूहले जिल्लाको भारदह र पोर्ताहा गाविसमा किसानले दर्जनौं विघामा लगाएको धानबाली नष्ट गरेको भारदह–१ का राजु शर्माले जानकारी दिए ।आरक्षबाट समूहमा बुधबार मध्य राति आएका हात्तीले पोर्ताहा–३ का कबितलाल पघैया यादव, प्रमोद यादव र पोर्ताहा–४ का सोभितलाल यादव लगायतका स्थानीयवासी र भारदहमा समेत धानबाली नष्ट गरेको बताइएको छ । कडा मेहनत र परिश्रम गरेर लगाइएको धानबालीमा हात्तीले क्षति पु¥याएपछि किसान चिन्तित भएको स्थानीय रामसेवक यादवले बताए । केही दिनयता सो क्षेत्रलगायत कञ्चनरुप नगरपालिका र सप्तकोशी नगरपालिकामा दैनिक कोशीटप्पु वन्यजन्तु आरक्षबाट हात्ती आएर आतङ्क मच्चाउँदा पनि स्थानीय प्रशासन मौन रहेको त्यहाँका जनताले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।