
संविधान संशोधन गर्न तत्काल सम्भव नहुने परिस्थिति देखिएपछि सत्ता राजनीतिमा भित्रभित्रै नयाँ खेल हुन लागेको लक्षण सतहमा प्रकट हुन थालेको छ ।उच्च जानकार स्रोतहरुका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको साथ र मधेसी मोर्चाको आडमा आफ्नो सरकारको आयु धेरै लामो हुन नसक्ने टिप्पणी आफ्नो वृत्तमा गर्न थालेका छन् ।
प्रधानमन्त्री दाहाल कांग्रेससँग टाढिँदै तथा एमालेसँग नजिकिँदै गएको बताइन्छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाभियोग प्रस्ताव ल्याउने प्रकरणमा आश्चर्यजनक रुपमा एमाले र माओवादी एक ठाउँमा उभिएका छन् ।सत्तापक्षको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यति ठूलो प्रकरणमा एक ठाउँमा आउनुलाई अनौठो रुपमा हेरिएको छ ।
कांग्रेस चिन्तित
उच्च राजनीतिक स्रोतहरुका अनुसार महाभियोग प्रकरणमा अचानक एमाले र माओवादी एक ठाउँमा आउनुलाई कांग्रेस नेताहरुले आश्चर्यका रुपमा लिएका छन् । सत्ता साझेदार माओवादले आफूसँग सल्लाह नगरी महाभियोग प्रस्तावमा एमालेलाई साथ दिनुलाई कांग्रेसले शंकाको दृष्टिले हेरेको छ ।
‘महाभियोग प्रस्तावका लागि मात्र नभएर सत्ता साझेदारीकै लागि एमाले र माओवादी अगाडि बढ्न थालेजस्तो देखिन्छ,’ कांग्रेसका एक सांसदले भने ।कांग्रेसका एक प्रभावशाली केन्द्रीय सदस्यले आठै प्रहरलाई बताए अनुसार प्रधानमन्त्री दाहालले सरकार संचालनका लागि न्यूनतम साझा नीति तथा कार्यक्रम समेत बनाउन मानेका छैनन् । साझा कार्यक्रम समेत नबनाई कांग्रेससँग टाढिने र एमालेसँग नजिकिने प्रधानमन्त्री दाहालको कदमले न्यूनतम साझा नीति तथा कार्यक्रम नै नबन्ने अवस्था आएको उनले बताए ।‘पर्दा अगाडि महाभियोग छ, पर्दा पछाडि अरु धेरै कुरा भएजस्तो बुझिन्छ,’ कांग्रेसका ती सांसदको भनाई छ ।
नयाँ समीकरण
वर्तमान सत्ता गठवन्धनको रचनाकार र प्रेरणा मधेसी मोर्चा हो र यसले आगामी छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने घोषणा गरेको छ । यसबाट सरकारलाई निकै ठूलो अप्ठेरो पर्ने देखिन्छ ।
भारत र मधेसी मोर्चाले संविधान संशोधनका लागि निरन्तर दवाब दिए पनि कांग्रेसले त्यसका लागि पहल नगरेको र एमालेले असहयोग गरेको अवस्था छ । यो अवस्थामा दाहालले संविधान संशोधन गराउन सक्दैनन् । संविधान संशोधन नहुने भएपछि नयाँ राजनीतिक परिदृष्यको जन्म अपरिहार्य हुन्छ ।
एमाले नेताहरुले माओवादीप्रति आफूहरुको कुनै पूर्वाग्रह नभएको बताइरहेका छन् र क्रमश नजिकिन थालेका छन् । यो अवस्थामा नयाँ सत्ता समीकरण निर्माण असम्भव नभएको एमाले नेताहरु बताइरहेका छन् ।माओवादीसँग सहकार्य गर्न नहुने पक्षमा कांग्रेसभित्रबाट एउटा ठूलो जमातले आवाज उठाइरहेको छ भने माओवादीभित्रै पनि नारायणकाजी श्रेष्ठ जस्ता नेताहरुले कांग्रेससँग सहयात्रा गर्न नहुने भनिरहेका छन् । कांग्रेसबाट क्रमश खतरा बढ्दै जाँदा प्रधानमन्त्री दाहालको पार्टी एमालेतिर नजिकिनु स्वाभाविक हुने धेरैको भनाई छ ।
महाभियोग प्रकरणलाई मीयो बनाएर भित्रभित्रै चल्न थालेको सत्ता राजनीतिको परिणाम आउन कति समय लाग्छ भन्ने चाहिँ अनिश्चित छ ।
अाठैप्रहरबाट