पाँचथर/ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई समुन्नत बनाउन अब आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् । तरुण दल पाँचथरले ६४ औँ स्थापना दिवसको अवसरमा आयोजना गर्ने ‘तरुण कप फुटबल प्रतियोगिता–२०७३’ उद्घाटन गर्दै पौडेलले बुधबार फिदिममा सो कुरा बताएका हुन् ।
‘अब मुलुकलाई समृद्ध बनाउने बेला आएको छ’, पौडेलले भने, ‘यसका लागि आर्थिक क्रान्ति अपरिहार्य छ ।’ कृषि क्रान्ति, पर्यटनको विस्तार र सौर्य ऊर्जामा जोड दिनुपर्ने उनको भनाइ छ ।एक फरक प्रसङ्गमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री प्रचण्डले संसदीय व्यवस्था नमान्ने अभिव्यक्ति दिएको चर्चा गर्दै आप्mनो भनाइ सच्याउन प्रधानमन्त्रीसँग आग्रह गरे ।
मुलुकको कार्यकारी प्रमुखले यस्तो गैरजिम्मेवार भाषा बोल्न नसुहाउने भन्दै पौडेलले प्रधानमन्त्री प्रचण्डलाई सच्चिन आग्रह गरे ।सोही कार्यक्रममा बोल्दै काङ्ग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले सबै दललाई समेटेर गए मात्रै संविधान कार्यान्वयन गर्न सकिने धारण राखे । कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य तथा सांसद् भीष्मराज आङ्देम्बे, पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, इलाम जिल्ला सभापति हिमालय कर्माचार्यलगायतले पनि बोलेका थिए ।
यसैबीच तरुण दलले आयोजना गरेको फुटबल प्रतियोगितामा पाँचथरका २१ गाविस र एक नगरपालिकाका गरी २२ टिम सहभागी हुने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जनाए ।