काठमाडौँ/‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी साताैँ सियाङसान सम्मेलन बुधबार बेइजिङमा सम्पन्न भएकाे छ । Balkrishna रक्षामन्त्री बालकृष्ण खाँण नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको उक्त सम्मेलन यही असोज २४ देखि सुरु भएको थियो । सम्मेलनमा ५९ मुलुक र छ अन्तर्राष्ट्रिय सङ्गठनका झन्डै ४०० जना पदाधिकारी तथा विज्ञहरु सहभागी थिए । नेपालबाट मन्त्री खाँणसहित नेपाली सेनाका उपरथी देवेन्द्रबहादुर मेधासी र राष्ट्रपतिको सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा सहभागी थिए । सो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खाँणले विश्वसामु देखापरेको पछिल्लो सुरक्षा चुनौतीसँग मुकाबिला गर्न सहयोग र सहकार्यका आधारित एक सर्वमान्य मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा तयार पारिएका सुरक्षा नीति तथा मापदण्डहरुमा नेपाल सहकार्य गर्न सधैँ तत्पर रहेको उनले सम्मेलनमा बताए । एसिया–प्रशान्त क्षेत्रको सुरक्षा र सहयोगका विषयमा सम्मेलन केन्द्रित थियो । रक्षामन्त्री खाँणले मङ्गलबार चिनियाँ समकक्षी छाङ वान छ्वानसँग द्विपक्षीय सैन्य सहायताबारे छलफल गरेका थिए । उनीहरुका बीचमा झन्डै एक घन्टा छलफल भएको थियो । नेपालको संविधान, चिनिया राष्ट्रपतिको नेपाल भ्रमण, सुरक्षा सहयोग, सुरक्षा सतर्कतालगायतका विषयमा छलफल भएको जनाइएको छ । चाइना एसोसिएसन फर मिलिटरी र चाइना इन्स्टिच्युट स्ट्राटेजिक स्टडिजको निमन्त्रणा उक्त सम्मेलनमा सहभागतिा जनाएका मन्त्री खाँण यही असोज ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस