kamal-chharahangदमक / लिम्बुवान आन्दोलनका अगुवा कमल छराहाङले लिम्बुवान प्राप्तिका लागि छुट्टै नयाँ राजनितीक दल गठन गर्ने उद्घोष गरेका छन् । त्यसका लागि लिम्बुवानका अगुवा नेताहरुसंग छलफल चलिरहेको भन्दै उनले दशैं तिहारपछि दल गठन गर्ने जानकारी दिए । आफुुहरु लिम्बुवानबासीको अभिमत लिएर मात्र अघि बढ्ने भन्दै उनले लिम्बुवानका सबै समुदाय र पक्षसंग छलफल गरेर पार्टी गठन गर्ने पनि जनाए । केही समय अघि दमकमा भएको संघिय लिम्बुवान पार्टीको महाधिबेशनमा नेतृत्व चयनप्रति असहमति राखेर बाहिरिएका छराहाङले मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै लिम्बुवान पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरे । महाधिबेशनले छराहाङलाई पार्टीको बरिष्ट नेता बनाएको थियो । महाधिबेशनमा उनले लिम्बुवान पार्टी सबै समुदायको प्रतिनिधित्व हुने गरि गठन गर्नुपर्ने भन्दै लिम्बुबाहेक अन्यबाट नेतृत्व चयन गर्नुपर्ने र आफुलाई अध्यक्ष बनाउनु पर्ने अडान राखेका थिए । लामो बिबादपछि अन्ततः अध्यक्षमा लिम्बुवानका अर्का अगुवा सन्जुहाङ पालुङ्वा चयन भएपछि छराहाङ असन्तुष्टि जनाउदै महाधिबेशनबाट एक्लै बाहिरिएका थिए । अहिले कुमार लिङ्देन र सन्जुहाङ पालुङ्वा नेतृत्वको पार्टी गठनका क्रममा देखिएको बिबादका कारण धेरै लिम्बुवानका नेता कार्यकर्ता माझ असन्तुष्टि चुलिएको दावी गर्दै उनले आफुले गठन गर्ने नयाँ दलमा उनीहरु आउन आतुर रहेको जिकिर पनि गरे । उनले भने, धेरै असन्तुष्ट साथीहरुसंग छलफल भइरहेको छ, नयाँ दलमा सबै समुदायको उपस्थिती हुने छ ।’ पञ्चायतकालमा समेत गाबिस अध्यक्ष हुदै बिभिन्न राजनितीक नियुक्ती पाएर काम गरेका छराहाङले २०४६ सालपछि पनि जनमुक्ति पार्टीलगायतका दलहरुको पदाधिकारी भएर काम गरेको अनुभव छ । लामो समयदेखि लिम्बुवान आन्दोलनमा सकृय छराहाङलाई लिम्बुवान पार्टीको अध्यक्ष हुनबाट रोकिदै आएको छ । आठपहरिया राईका केन्द्रीय अध्यक्ष समेत रहेका छराहाङले लिम्बुवान नेताहरुले राई भएकै कारण अध्यक्ष हुनबाट रोक्दै आएको दावी गरे । दुई साता अघि दमकमा भएको महाधिबेशनमा पनि उनले आफुलाई गैरलिम्बु भएकै कारणले अध्यक्ष हुनबाट बञ्चित गरिएको आरोप लगाएका थिए । अरुण पुर्ब जसरी लिम्बुवान भएरै छाड्ने दावी गर्दै उनले त्यसका लागि सबै पक्षको सहभागिता हुनुपर्ने उल्लेख गरे । केहीबर्ष अघि एक भएको लिम्बुवान पार्टी अव पुनः तीन टुक्रा भएको छ । लिङदेनले संघीय लिम्बुवान मञ्चलाइ व्यूझाईसकेका छन् ।