भद्रपुर/नगरमा हुने गरेका विकास तथा अन्य गतिविधीमा केहि ठुला राजनैतिक दलको आडमा रहेर साना दललाई वास्ता नगरेको भन्दै नगर संयन्त्र जाने दलहरुले आपत्ती जनाएका छन् । झापाको भद्रपुर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सन्तोष घिमिरेले एमाले र काँग्रेसको आडमा नगरका जुनसुकै काम एकलौटी रुपमा गरेको विरुद्धमा नगरका पाँचओटा दलले विहिवार लिखितरुपमा प्रेस विज्ञप्ती सार्वजानिक गरी कार्यकारी घिमिरेको कार्यसैलीप्रती आपत्ती जनाएका हुन् ।
नेकपा माओवादी केन्द्रका नगर सहइन्चार्ज लक्ष्मण जमर कट्टेल,संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य निर कुमार राई, राष्ट्रिय जनमुत्ती पार्टीका जिल्ला सदस्य विष्णु कुमार राजवंशी,मधेशी जनाधिकार फोरम गणतान्त्रिक का नगर अध्यक्ष उपेन्द्र ठाकुर, नेपाल आदिवासी जनजाती महासंघका नगर अध्यक्ष सन्तोष राजवंशीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । नेपाल सरकारको कर्मचारीले राजनैतिक सहमती विना करिब ८० लाख रकम निकासा गरी काम सुरु गरेको विषयमा नगर प्रमुखले स्पस्टीकरण दिनुपर्ने केन्द्रका सहइन्चार्ज जमर कट्टेलले बताए । भद्रपुर नगरपालिकाको भवन पुन निमार्ण र महेन्द्र पार्कको जीर्णोद्धारमा कुनै निर्णय नगरी आफुखशी गरेको प्रेशित विज्ञप्तीमा उल्लेख गरिएको छ । नगरमा शुरु भएका विकास निर्माणलाई रोक्नलगाई आफुलाई मनलागेको काममात्र गर्ने गरेको हुदा अधिकृत घिमिरेको नियत फोहोर रहेको आदिवासीका नगर अध्यक्ष सन्तोष राजवंशीले बताए । ठुला दल नआएसम्म वैठक शुरु नगर्ने तर सानादलको कुनै मतलब नराखेको हुदा पक्षपात नगरी सवै दललाई समान दृष्टिले हेरिनु पर्ने समाजवादी फोरमका जिल्ला सदस्य राईले बताए ।
भद्रपुर नगरपालिकाले शुक्रवारवाट द्धार एक सेवा अनेक भन्ने नाराका साथ सुरु गर्न लागेको उद्घाटन कार्यक्रममा सहभागी नहुने जनाएका छन् । कार्यक्रममा सहभागी नहुदा हुनसक्ने दुर्घटनाको जवाफ देही सरोकारवालाले लिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत घिमिरेले शुक्रवार कार्यालयवाट दिइने सेवा उद्घाटन हुने बताए । कार्यालयले साँझ पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले दिने सम्पुर्ण सेवा पुरा भएकोले कसैले विरोध गर्दैमा सेवा नरोकिने बताए । नगरमा गरिने सवैकाम नियमसंगत भएकोले विकासको काममा व्यत्तिगत रिसिवी ल्याउनु जायज नभएको उनले बताए ।