गुलरिया (बर्दिया)/बर्दियामा भेरी यातायात प्रालिले नियम विपरीत गाडी सञ्चालन गरेको भन्दै कृष्णसार यातायात बस व्यवसायी समितिले तीन दिनदेखि आफ्ना सम्पूर्ण यातायातका साधन बन्द गरेको छ । बर्दियाका बस व्यवसायीलाई धरासायी बनाउनका लागि भेरी प्रालिका नाममा व्यक्तिगत गाडी सञ्चालन गरेकाले त्यसको विरोधमा आफू मातहतका सबै गाडी बन्द गरिएको कृष्णसार समितिका अध्यक्ष शम्भु रिजालले बताए । उता भेरी प्रालिले सञ्चालन गर्ने गाडी भेरीको नाममा नभएर व्यक्तिका नाममा दर्ता भएकाले आफूले सबै प्रक्रिया पूरा गरेर यातायात सञ्चालन गरेको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताए । उता कृष्णसार बस व्यवसायी समितिद्वारा बर्दियाबाट सञ्चालन हुने दैनिक लामो तथा छोटो दूरीका ९० बढी गाडी बन्द भएपछि सर्वसाधारण समस्यामा परेका छन् । यातायात व्यवसायीको आन्दोलनका कारण सर्वसाधारणले दुःख झेल्नु परेको सर्वसाधारणको गुनासो छ । रासस