धरान /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत असन्तुष्ट दलहरुको माग सम्बोधन हुने बताएका छन्। संविधान गतिशील र जीवन्त दस्तावेज भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनपश्चात मधेसी, थारु, आदिवासीको अधिकार सुनिश्चित हुने बताए। संविधान दिवसका अबसरमा सोमबार टुडिखेलमा अायोजित समारोहलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारका कुनै पनि देशमा एकैचौटी संविधान पूर्ण नभएको स्मरण गर्दै अब हुने संविधान संशोधनले असन्तुष्ट पक्षको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले हालसम्मका उपलब्धिलाई संस्थागत गर्दै अब संविधान कार्यान्वयनतर्फ अग्रसर हुनु पर्ने बताए। उनले २०७४ माघ सात ७ गतेसम्म तीनवटै चुनाव गर्नुपर्ने वाध्यकारी व्यवस्थालाई सहजै कार्यान्वयन गरी छाड्ने बताए। 'समयमै तीनवटै चुनाव सम्पन्न गर्नका लागि कामको तालमेल मिलाएर चुनावको छिट्टै घोषणा हुने छ,’ उनले भने। तीनवटै निर्वाचन सम्पन्न गर्ने कार्यभार पूरा गर्न आवश्यक कानुन तथा संस्थागत संरचना निर्माण भइरहेको प्रधानमन्त्रीले बताए। उच्च अदालत गठनको निर्णयले संघीयता कार्यान्वयनमा थप बल पुगेको उनको भनाइ थियो। असोज ३ ले जनताको अधिकार सुनिश्चित गरेको दिनलाई स्मरण गर्दै सरकारले असोज ३ लाई राष्ट्रिय पर्वको रुपमा मनाउन लागेको प्रधानमन्त्रीको भनाइ छ। संविधानले राजनीतिक मात्र होइन, आर्थिक र सामाजिक अधिकार सुनिश्चित गरेको छ,'उनले भने। संविधानले निर्दिष्ट गरेका कुरामा अघि बढ्ने उनले विश्वास व्यक्त गरे । संविधान निर्माणमा सघाउने सबैलाई संविधान पदकबाट सम्मान गर्ने सरकारको तयारीसमेत रहेको उनको भनाइ थियो।