विराटनगर/ स्थानीय विकास राज्यमन्त्रि श्रीप्रसाद जवेगुले स्थानीय तह पुर्नसंरचनामा  देखिएका विवादहरु राजनीतिक र प्राविधिक ढंगबाट समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरागर्दै राज्यमन्त्रि जवेगुले स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको संख्यामा केही तलमाथि गरेर अहिलेसम्म ३६ जिल्लाबाट सिफारिस भइसकेको र अरु धेरैले  अन्तिम तयारी गरिरहेको जानकारी दिँदै केही दिन भित्रै सबै जिल्लाबाट सिफारिस भइसक्ने बताए ।

shree-jabegoo

आयोगमा सिफारिस गर्दा कतिपय असहमतिका कुराहरु जस्ताको त्यस्तै पठाउन निर्देशन भएकोले त्यस्ता विवादमा आयोगले आवश्यक परामर्श गरेर समाधान खोज्ने भएकोले जटिलता नहुने उनकाे भनाई थियो । स्थानीय विकास मन्त्रालयले स्थानीय तहको निर्वाचनकालागि आवश्यक पर्ने सबै कानुनहरु निर्माण गरिरहेको र संख्या निर्धारण हुनासाथ कानुन पारित गर्ने प्रकृयामा अघि बढ्ने उनले बताए ।

यहि सरकारले स्थानीय तहको निर्वाचन गर्ने भएकोले त्यसकालागि राजनीतिक सहमति जुटाउने काम भइरहेको उनकाे भनाई थियो । कतिपय राजनीतिक दलहरुले स्थानीय निकायको निर्वाचनको कुरा गरिरहेको सन्दर्भमा अब नेपालमा स्थानीय निकायको निर्वाचन नहुने बताए । मुलुक संघीयतामा प्रवेश गरेको र संविधानले स्थानीय तहको व्यवस्था गरेको हुँदा सोही अनुसारको निर्वाचन अघि बढ्ने र दलहरु त्यसमा सहमत हुने उनकाे भनाई थियो ।

स्थानीय विकास मन्त्रालयबाट कर्मचारीहरुको सरुवा गर्दा निश्चित विधि र प्रकृया मिलाएर अघि बढ्ने उहाँको भनाई थियो । उहाँले सरुवा मन्त्रालयको नियमित काम भित्र पर्ने भएकोले कसैले पनि त्यस विषयमा चिन्ता गर्न नपर्ने भन्दै काम, कार्य क्षमता र आवश्यकता आदिका आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिने उनले बताए ।