धरान/ सरस्वती बाल आश्रमले बाल दिवसको अवसरमा बुधबार रजत जयन्ती मनाएको छ । आश्रम परिसरमा रजत जयन्ती मनाउँदै एक महिने कार्यक्रमको समापनसमेत भएको छ ।साउन ९ गतेबाट आश्रमले रजत जयन्ती मनाउन शुरु गरेको थियो । त्यस बीचमा विभिन्न खेलकुद, चित्रकला लगायत कार्यक्रम भएका थिए ।
आश्रमले यसैबीच २७ औं साधारण सभासमेत गरेको छ । आश्रममा आवद्ध आजीवन सदस्य, कार्यसमिति सदस्य, सल्लाहकार समितिका सदस्यहरुलाई सम्मानपत्रले सम्मानित गरेको छ ।यसैबीच पूर्व एआइजिपी गणेशराज राई र कृष्णराज राईले अनाथ बालबालिकाको नाममा २ लाख ११ हजार एक सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । यो कोषबापत् आएको ब्याज रकम अनाथ बालबालिकाको अध्यापन लगायतमा खर्च गरिने बताइएको छ । रजत जयन्तीको अवसरमा गरिएको पूर्वाञ्चलव्यापी बालगृहव्यापी चित्रकला प्रतियोगितामा एसओएस बालग्रामका रोमन लिम्बू विजेता बनेका छन् । यस्तै शोभा राजवर दोस्रो र रोशन तामाङ तेस्रो बनेका छन् । पूर्वाञ्चल बालसेवा आश्रमकी श्वेता राई सान्त्वना बनिन् ।यस्तै आश्रमका बालबालिकाबीच विभिन्न खेलकुद प्रतियोगिता गराइएको थियो । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, पूर्व एआईजिपी गणेशराज राई, अध्यक्ष अम्बिका राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा २३ वर्षदेखि आश्रममा सेवा गरेवापत् पूर्णप्रसाद फुयाँललाई ११ हजार एक सय ११ रुपैयाँले पुरस्कृत गरिएको थियो । आश्रम परिसरमा विद्याकी देवी सरस्वतीको स्तम्भ पनि निर्माण गरिएको छ । स्तम्भको उद्घाटन गरिएको छ भने पूर्व अध्यक्ष तीर्थराज राईको अर्ध कदको शालिक समेत अनावरण गरिएको छ । २०४८ सालमा कृष्णबहादुर साहीले २ जना अनाथ बालबालिकाबाट आश्रमको शुरुवात गरेका थिए ।यस्तै धरान–१५ को त्रिवेणी स्कुल, युनाइटेड गोर्खा एकेडेमीले पनि बालदिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् । हाजिरीजवाफमा ग्रिन हाउस विजयी भएको छ । उपविजेता रेड हाउस भएको छ । कक्षा ४ मा स्पेलिङ कन्टेन्ष्ट गराइएको थियो । कक्षा १ देखि ३ सम्म हेन्डराइटिङ प्रतियोगिता, कक्षा ५ डिक्टेसन प्रतियोगिता, सिनियर विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता भएको थियो । नर्सरी र एलकेजीमा डान्स प्रतियोगिता, युकेजीको गायन प्रतियोगिता भएको प्रिन्सिपल पेम्बा शेर्पाले बताए ।यस्तै धरान–१८ स्थित माउन्ट हर्मन एकेडेमीमा धरान सङ्गीत प्रतिष्ठानले साङ्गीतिक कार्यक्रम गरेको छ । एकेडेमीले बालदिवसकै अवसरमा विविध कार्यक्रम गरेको छ । प्रतिष्ठानलाई प्रिन्सिपल अनुप योञ्जन र व्यवस्थापक नवीन राईले सङ्गीत स्कुलको लागि १० हजार रुपैयाँ सहयोग गरेका थिए ।
तस्वीरहरु उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर