hatyaपाँचथर / गत साउन ३ गते राती फिदिम नगरपालिका-२, ओदिनमा क्रियापुत्री रुँग्न बसेका देउराज लिम्बू र मनोज लिम्बू बीच सामान्य विवाद भयो । त्यहीं विवादलाई लिएर १८ वर्षीय मनोजले छिमेकी ४९ वर्षीय देउराजलाई धारिलो हतियार प्रहार गरे । ३ किलोमिटर दुरीमा रहेको सदरमुकाम फिदिम स्थित पाथीभरा हस्पिटल पु¥याई उपचार सुरु गर्दागर्दै देउराजको निधन भयो । पछिल्लो समय जिल्लामा सामान्य विवाद नै हत्याको कारक बन्दै गएको छ । गत आर्थिक वर्ष २०७२/७३ मा जिल्ला प्रहरी कार्यालयमा ४ वटा कर्तव्य ज्यानका घटना दर्ता भए । तीमध्ये एक नवजात शिशु बाहेक अन्य घटनाको प्रकृति हेर्दा हत्याको कारण कुनै ठूलो रिसइबी देखिंदैन । घटना योजनाबद्ध रुपमा घटेको पनि पाइदैन । सामान्य विवादको क्रममै हत्या जस्तो जघन्य अपराध भएको प्रहरीको अनुसन्धानले देखाउँछ । गत वर्षको चैत २६ गते राती छिमेकी आरुबोटे गाविसमा आयोजित साँस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा बाटोमा सामान्य विवाद हुँदा रवि -३, का १८ वर्षिय सुखबीर राईको ज्यान गयो । विवादको विषय थियो खुट्टामा पिसाव गरिदिएको निहुँ । भनाभन भएपछि लाएको गल्फनले घाँटिमा बेरेर तान्दा सुखबीरको मृत्यु भएको हत्यामा संलग्न २४ वर्षिय देउके भनिने अनिल राईले प्रहरी समक्ष बयान दिएका थिए । यस्तै सामान्य विवादकै क्रममा गत वर्षको चैतमै चिलिङदेन- ६, का ४३ वर्षिय विरदल नेम्बाङले ५५ वर्षिया सुकमाया नेम्बाङको हत्या गरे । त्यस्तै साउनमा पञ्चमी -२, मा आफ्नै श्रीमान ४० वर्षिय वम बिक्रम सेवाको हातबाट श्रीमति ४१ वर्षिया हेम कुमारी लोवाको ज्यान गयो । गत आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका कर्तव्य ज्यानका ४ घटनामध्ये यासोक-५, का ३० वर्षिया राज कुमारी लिम्बू र ४४ वर्षिय मुख बहादुर लाओतीले भने अबैध सम्बन्धबाट रहन गएको ९ महिने शिशुको जंगलमा गाडेर हत्या गरेका थिए । यसरी हेर्दा व्यक्तिले क्षणिकको आवेशलाई नियन्त्रण गर्न नसक्दा अधिकांश हत्याका घटना हुने गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । मादक पदार्थ सेवन, घरायसी कलह, रातको समयमा मेला, जात्रामा हुने विवाद, लेनदेन जस्ता विषय हत्याका कारक देखिएको जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर विजय श्रेष्ठले बताए । सानो विवादले ठूलो रुप लिने र हत्यासम्म हुने गरेको इनिस्पेक्टर श्रेष्ठको भनाई छ । हाल अपराध न्यूनिकरण गर्न पाँचथर प्रहरीले ग्रामीण गस्ती, लामो दुरीको गस्ती र क्रस युनिट गस्तीलाई निरन्तरता दिएको जनाएको छ । त्यस्तै प्रहरीको त्रिवर्शीय रणनीतिक कार्ययोजना अनुरुप मासिक तथा वार्षिक कार्ययोजना बनाई कार्यान्वय गर्ने गरेको कार्यालयका सूचना अधिकारी समेत रहेका श्रेष्ठले बताए । त्यस्तै जिल्लामा रातको समयमा कुनै पनि मेला, जात्रा र पर्व आयोजना गर्न बन्द गरिएको छ । घरदैलो अभियान, विभिन्न जनचेतनामुलक कार्यक्रम र प्रहरी मेरो साथी कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ भने  फिदिम बजार क्षेत्रमा ३२ वटा सिसि क्यामेरा जडान गरिएको छ । उल्लेखित हत्यका प्रकरणका सबै दोषिलाई पक्राउ गरी अदालतको आदेश अनुसार जेल चलान समेत गरिसकिएको इनिस्पेक्टर श्रेष्ठले जानकारी दिए ।