धरान / सडक दुर्घटनाका कारण पूर्वाञ्चलयमा दैनिक औषत दुईजनाको ज्यान जाने गरेको तथ्याङ्क छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको पछिल्लो तीनवर्षको तथ्याङ्क अनुसार हरेक वर्ष औषत मृत्युदर बढिरहेको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा १ दशमलव ०६ प्रतिशत औषत मृत्यु दर भएकोमा आव २०७२ /०७३ मा १ दशमलव २२ प्रतिशत पुगेको छ । यो मृत्युदर आव २०७१/०७२ मा १ दशमलव २१ प्रतिशत मात्रै थियो । सडक दुर्घटनाको विविध कारण मध्ये ‘हेलचेक्राई र लापरबाही’ को प्रतिशत सबैभन्दा माथि छ । जसमा ४३ प्रतिशत सडक दुर्घटना मानवीय लापरबाही र हेलचेक्राईको कारणले हुने गरेको छ । सडकको अवस्थाको कारण ११ प्रतिशत दुर्घटना हुने गरेको छ । यसको पछिल्लो उदारहण धनकुटाको सिधुवामा भएको सडक दुर्घटनालाई लिन सकिने यातायात व्यवसायीहरु बताउँछन् ।
जसमा १३ जनाले एकैपटक ज्यान गुमाएका थिए । सडक दुर्घटनाबाट पूर्वमा सबैभन्दा बढी मृत्यु भएको यो नै पहिलो दुर्घटना रहेको यातायात व्यवसायीको दाबी छ । क्षेत्रीय ट्राफिकका अनुसार आव २०७०/०७१ मा ३ सय ८८ जनाको मृत्यु भएको थियो । जसमा एक हजार ५ सय ५९ वटा सवारी साधन दुर्घटनामा संलग्न थिए । आव २०७१/०७२ मा ४ सय ४३ जनाले ज्यान गुमाएकोमा एकहजार ७ सय १ वटा सवारी साधन संलग्न थिए । आव २०७२/०७३ मा ४ सय ४६ जनाले ज्यान गुमाएका थिए । जसमा १ हजार ८ सय १३ वटा सवारीहरु संलग्न रहेको ट्राफिकको तथ्याङ्कमा उल्लेख छ । कोशी अञ्चलमा मात्रै एकवर्षमा ४५ हजार भन्दा बढी सवारी साधनहरु नयाँ दर्ता हुने गरेका छन् ।
‘सडक विस्तार छैन् । गाडीहरु भित्रिएका भित्रिएै छन् ।’ क्षेत्रीय ट्राफिकका प्रमुख एसपी पवनप्रसाद गिरी भन्छन् ‘जनचेतनाको कारण दुर्घटना धेरै कम भइरहेका छन् ।’ कोशी अञ्चल यातायात कार्यालय इटहरीका अनुसार आव २०७०/०७१ मा २९ हजार ५ सय २३ वटा नयाँ गाडीहरु दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल मात्रै २७ हजार २ सय सात छन् । त्यस्तै आव २०७१/०७२ मा ३३ हजार ८ सय ९० वटा गाडीहरु दर्ता भएको देखिन्छ । जसमा मोटरसाइकल मात्रै ३० हजार ५ सय ६९ वटा छन् । आव २०७२/०७३ मा ४६ हजार ८ सय ४० वटा गाडीहरु दर्ता भएका छन् । यस हिसावले सवारीहरु बढिरहे पनि सडकको अवस्था भने जहीको त्यही छ ।
नेपालमा सडकको अवस्था हेर्न हो भने आर्थिक वर्ष २०७०/०७१ को फागुनसम्ममा कालो पत्रे १ सय ५१ किलोमिटर, खण्डास्मित १ सय ३६ किलोमिटर, कच्ची ३ सय ३४ किलोमिटर सडक विस्तार गरी हाल २५ हजार ५ सय ९९ किलोमिटर मात्रै रहेको छ । सडकको दुर्दशाले दुर्घटना नित्याइरहेको सम्बन्धित विज्ञहरु बताउँछन् । दुर्घटनाको अन्य कारणहरुमा प्राकृतिक कारण र मेकानिकल कारणले पनि दुर्घटना हुने गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोशी अञ्चल संयोजक कृष्ण सुवेदी बताउँछन् । उनका अनुसार प्राकृतिक कारणले नेपालमा ७ प्रतिशतसम्म दुर्घटना हुने गरेको छ ।
अर्को तर्फ ट्राफिकको पहुँच एकदमै कम भएको उनको तर्क छ । नेपालमा १० हजार भन्दा बढी ट्राफिक प्रहरीहरुको आवश्यकता भएको महसुस एसपी गिरीसमेत गर्छन् । पूर्वमा मात्रै २५ सय ट्राफिकको आवश्यकता छ । तर, अहिले २६० ले काम चलाइरहेको एसपी गिरी बताउँछन् । भन्छन् ‘२५ सय भन्दा बढी ट्राफिक पूर्वलाई नै चाहिन्छ । तर, देशभर कुल ट्राफिकको संख्या नै २५ सय भन्दा कम छ ।’ अहिले पूर्वको पाँचवटा जिल्ला भोजपुर, संखुवासभा, सोलुखुम्बू, ओखलढुंगा र खोटाङमा ट्राफिकको दरबन्दी नै कायम भएको छैन् । तराईका दरबन्दीहरु काटेर झण्डै ३० जना ट्राफिक त्यस जिल्लाहरुमा खटाइएको उनले बताए । ‘यस्तो विडम्बना छ हामीसामू ।’ उनी भन्छन्, ‘अनी कसरी दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ ? त्यै पनि हामीले सक्दो प्रयास गरिरहेका छौं ।’