पाँचथर/ दक्षिणी पाँचथरको सुख्खाग्रष्त क्षेत्र यासोक, स्यावरुम्बा र रानिगाउँ गाविसबासीलाई लक्षित गरी सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम ७ महिना पछि पुनः सूचारु भएको छ । काम सूचारु भए पछि स्थानीयमा आसाको मुना पलाएको छ । आयोजनाको मूख्य पाइपलाइनको काम २०७४ साल पुष सम्ममा सम्पन्न गर्नुपर्नेछ ।

tamor

तर सुरुवाती समयको ७ महिना बिभिन्न प्राबिधिक कठिनाई देखाएर अयोजनाको काम ठप्प हुँदा स्थानियबासीहरु निरास भएका थिए । ७ महिनापछि निर्माण कम्पनिले आयोजनाको कामलाई तिब्रता दिए सँगै पुनः आसा पलाएको स्थानिय नवीन भण्डारीले बताए ।हालसम्ममा आयोजनाको २७ प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि प्राविधिक कठिनाइले केही समय भने जस्तो काम अघि बढ्न नसकेको आयोजनाको जिम्मा पाएको प्रेरा स्वामी नारायण जेभीले जनाएको छ । आयोजनाको लागि आवस्यक सामग्री तयार भएकाले अब काम नरोकिने समेत कम्पनिका सन्तोष बस्नेतले बताए । कूल ५१ करोड ३० लाख २० हजार लागतमा निर्माण भइरहेको उक्त आयोजनालाई मेलम्चि पछि नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना भनिएको छ । तमोर नदीको लारिपा दोभानबाट यासोकको थामडाँडा सम्म पम्पिङ गरी पानी ल्याएपछि वितरण गरिने लक्ष्य राखिएको छ । उक्त आयोजना सम्पन्न भएपछि खानेपानीको चरम अभाव खेपीरहेका पाँचथरको यासोक, रानीगाउँ र स्याबरुम्बाबासीले मुक्ति पाउँनेछन् । सो क्षेत्रमा खानेपानी समस्याकै कारण बसाई सर्ने क्रम अझै पनि रोकिएको छैन ।