शनिश्चरे/स्थानीयको उजुरीमा मोरङको पथरीशनिश्चरेमा एउटा बाल विवाह रोकिएको छ ।संखुवासभा घर भएका २१ वर्षीय सन्देश लिम्बूले पथरीशनिश्चरे १० की १५ वर्षीया बालिका संगीता लिम्बूलाई विवाह गर्न लागेको थाहा पाएर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।पथरीशनिश्चरे १५ स्थित आफन्त मनबहादुर लिम्बूको घरबाट सोमबार बेहुलो बनेर गएको अवस्थामा सन्देशलाई कुशे प्रहरी चौकीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरी पुर्याएको थियो ।
वेहुली बन्न लागेकी संगीतलाई पनि प्रहरीले तत्कालै प्रहरी कार्यालय लगी सोधपुछ गर्दा आफुहरु राजीखुसीले विवाह गर्न लागेको बताएकी थिइन् । तर नेपालको कानूनमा केटी १८ वर्ष नपुगी विवाह गर्न नपाउने प्रावधान भएकाले उनीहरुलाई विवाह गर्न नदिई आआफ्नो घर फर्काइएको पथरी प्रहरी प्रमुख रमेश वस्नेतले जनाए ।भोजभतेर समेत तयार गरेर विवाहका लागि लाखौं खर्च भइसकेको अवस्थामा विवाह रद्ध भएपछि वेहुला र वेहुली पक्षका आफन्तहरुमा तनाव सिर्जना भएको छ । उता, अन्तरजातीय विवाह भन्दै केटीका आफन्तले प्रहरी कार्यालयमा थुनाएर छुटानाम गराउन खोजेपनि पथरीशनिश्चरे १४ का ओमप्रकाश पासवान र हसन्दहकी गीता मण्डलले विवाह रद्ध नगरी एकसाथ बसेका छन् । दुवैतर्फका आफन्तहरु भेला भएको बेला दलित केटासँग विवाह गर्न नहुने भन्दै केटीलाई छुटाएर आफ्नै घर लान केटी पक्षकाले इलाका प्रहरी कार्यालयमा २ दिनसम्म पटक पटकको प्रयास गरेका थिए । उनीहरुले प्रहरी कार्यायको गेट बाहिर गाडी ठिक्क पारी केटी छुटाएर तत्काल लुकाउने योजना बनाइरहेका थिए । सोमबारको प्रयासमा पनि केटाकेटी छुट्टिन नमानेपछि उनीहरु विवाह स्वीकार्न वाध्य भएका छन् । आफुलाई जातीय छुवाछुतको कुरा स्वीकार नहुने भन्दै गीता अगाडि उत्रिएकि थिइन् । २ महिनाअघि आफुखुसीले विवाह गरेर गाउँ छोडेपछि ओमप्रकाश र गीतालाई खोजेर छुटाउन प्रयास गरेका थिए ।