विराटनगर/ विराटनगर उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि लागु हुने गरेको घरजग्गा कर वृद्धिको निर्णय फिर्ता गर्न माग गर्दै आइतवार संयुक्त संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यवहाक कार्यकारी अधिकृत अर्जुन थपलियालाई ज्ञापन पत्र बुझाउँदै संघर्ष समितिले एक साता भित्र करको दर वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरेका हुन् । कर वृद्धि गर्ने निर्णय फिर्ता नभए भदौ १३ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । उनीहरुले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

paisaश्रावण १ गतेबाट लागु भएको घरजग्गा करको दर विगतको तुलनामा दुईदेखि चार गुणासम्म बढेको भन्दै जनस्तरबाट त्यसको व्यापक विरोध भएको छ । उपमहानगरपालिकाले सुरुमा राजनीतिक दलहरुसंग परामर्श गरेर उनीहरुको सहमतिमा नै करको दर बढाएको बताएको थियो । कार्यकारी अधिकृतको सो दावी अस्वीकार गर्दै स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले त्यसको खण्डन गर्दै करको दर वृद्धि गर्ने निर्णय फिर्ता लिन र दायरा बढाएर आम्दानी वृद्धि गर्न दवाव दिँदै आएका छन् । उपमहानगरपालिकाले कर निर्धारण गर्ने मापदण्ड मन्त्रिस्तरीय निर्णयबाट स्थानीय स्वायत्त शासन नियमावली २०५६ को सातौं संशोधनको आधारमा वृद्धि गरेको दावी गर्दै आएको छ । व्यापक छलफल र परामर्शबीना लिइएको सो निर्णय अस्वीकार गर्ने भन्दै दलहरु आन्दोलन तर्फ अग्रसर भएका हुन् । भदौ १३ गते कर वृद्धिको निर्णय विरुद्ध हस्ताक्षर संकलन गर्ने र जिल्ला प्रशासन कार्यालय मार्फत स्थानीय विकास मन्त्रालयमा बुझाउने, १४ गते नगरपालिका भित्र बसोबास गर्ने सबलाई कर नतिर्न आव्हान गर्दै भण्डाफोर अभियान चलाउने, १५ गतेदेखि उपमहानगरपालिका कार्यालयको मुल गेटमा धर्ना बस्ने आन्दोलनका कार्यक्रम तय गरेका छन् । करको दायरा बढाउन भनि दलका प्रतिनिधिहरुले दिएको सुझावलाई उपमहानगरपालिकाले दर वृद्धि गरेर जनतालाई आहात दिएकोले निर्णय फिर्ता नभएसम्म आन्दोलनलाई निरन्तरता दिने नेकपा माओवादी केन्द्रका नगर संयोजक नमिता न्यौपानेले बताउनुभयो । यस्तै नेपाली काग्रेंसका नगर सभापति भीम पराजुलीले अवैज्ञानिक ढंगबाट निर्धारण भएको कर अस्वीकार गर्ने भन्दै कर्मचारीको एकल वोर्डले गरेको जुनसुकै निर्णय जनताले स्वीकार गर्नुपर्ने वाध्यता नरहेको बताउनुभयो । नेकपा एमाले नगर इन्चार्ज सागर थापाले जनतालाई करको बोझ थोपर्ने निर्णय फिर्ता गराउन सबै नगरवासी आन्दोलनमा सहभागि हुने बताए ।