शनिश्चरे/पूर्वाञ्चलमै दु्रततर भौतिक विकासमा अगाडि बढेको मोरङको पथरीशनिश्चरे नगरलाई सृजनशिल नगरको पहिचान बनाउन पहल शुरु भएको छ ।कला र साहित्यका क्षेत्रमा क्रियाशिल एभरेष्ट आर्ट फ्युजनको संयोजनमा बुधबार छलफल गरी त्यसखाले पहल शुरु भएको हो ।छलफलमा सोही नगर निवासी मोरङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईले नगरलाई सृजनात्मक नगरको पहिचानबाट चिनाउने कुरामा आफुले समेत पहल गर्ने बताए । ‘यो सुन्दर क्षेत्रलाई सृजनाको क्षेत्रबाट चिनाउँदै यो क्षेत्रको चेतना अभिबृद्धिको अभियानमा म लागि पर्नेछु । सवै मिलेर योजना बनाऔं ।’– उनले हौसला प्रदान गर्दै भने ।

pathari पञ्चायत उच्चमाविले संरक्षण गरेको ऐलानी जग्गालाई नगरपालिका कार्यालयले जिल्ला बन कार्यायलयसँग छलफल गरी सृजनशिल पार्क बनाउने कुराको पहल गर्ने नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले उल्लेख गरे । रत्नपार्क पश्चिमको सिमसार समेत भएको खाली जग्गाको संरक्षण समेत गर्नु आवश्यक रहेकाले संरक्षण सहितको त्यसखाले पहलका लागि समिति निर्माण गर्ने छलफल भइरहेको उनले जानकारी गराए । छलफलमा सँस्कृतिकर्मी डा। सोमप्रसाद खतिवडाले व्यवस्थित योजना बनाएर प्राकृतिक ठाउँलाई संरक्षण गर्दै नगरको सुन्दर पहिचान बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा प्रकतिलाई सिंगार्ने क्रममा लागि परिरहेका कलाकार विक्रमश्रीले प्रकृतिको सुन्दरतामा कलात्मकता भरेर पर्यटन प्रवद्र्धन र सृजनशिलताको महत्व उजागर गर्न नगर क्षेत्र उपयुक्त रहेको औंल्याए । ‘प्राविधिक पक्षबाट यहाँको भौगोलिक अवस्थाको अध्ययन गरी सवै पक्षसँग छलफल गरेर सृजनशिलताको विकासका लागि रणनीतिक योजना बनाऔं ।’– यस अघि गाविस हुँदा नै सक्रिय पथरीशनिश्चरे क्षेत्रको सृजनशिलताको गतिविधिलाई पुन व्यूँताउनु पर्ने प्रसंग सहित उनले उल्लेख गरे ।

एभरेष्ट आर्ट फ्युजनका सल्लाहकार पत्रकार एवम् सर्जक भूपेन्द्र तिम्सिना, फ्युजनका अध्यक्ष टिकाराम राई, संरक्षक अध्यक्ष सरोजा खड्गी, रेडियो सिम्रिकका स्टेशन म्यानेजर अशोक साम्पाङ राईले नगर क्षेत्रमा सृजनशिल गतिविधि गर्दै सृजनशिल पहिचान बनाउन सवै पक्ष लागिपर्नु आवश्यक रहेको जनाए ।