biratnagarविराटनगर /  विराटनगर उपमहानगरपालिकाले चालू आर्थिक वर्षबाट घरजग्गा कर वृद्धि गर्दा राजनीतिक दलहरुको सहमति रहेको दाबी गरेपछि दलका प्रतिनिधिहरुले त्यसको खण्डन गरेका छन् । विराटनगरमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत सबै दलले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी राजनीतिक दल र तिनका प्रतिनिधिहरुलाई बदनाम गराउने ढङ्गबाट उपमहानगरपालिकाले कर वृद्धिको दोष दलको टाउकोमा थोपरेको भन्दै वृद्धि गरेको कर फिर्ता गर्न माग गरेका हुन् । उपमहानगरले कर वृद्धि गर्दा ठूला करदातालाई राहत दिएर साना तथा मध्यम करदाताको ढाड सेक्ने काम गरेको भन्दै कर वृद्धिको निर्णय फिर्ता गराउन आमरण अनशनसम्मका कार्यक्रमसहित आन्दोलनमा ओर्लने चेतावनी राजनीतिक दलका नगर प्रतिनिधिहरुले दिएका छन् । स्थानीय निकायको निर्वाचन नभएको र कर्मचारीमार्पmत् सञ्चालन भइरहेको अवस्थामा त्यहाँका हरेक निर्णय कार्यकारी अधिकृतको एकल बोर्डबाट हुने भएको हुँदा करको दर बढाउने निर्णय कार्यकारीको मात्रै भएको नेपाली काङ्ग्रेस नगर समिति सभापति भीम पराजुलीले बताए । दलका प्रतिनिधिहरु सम्मिलित बैठक पुस २७ गते बसेको र त्यस बैठकमा सैद्धान्तिकरुपमा करको दरभन्दा दायरा बढाउने भन्ने निर्णय गरेको भएपनि त्यसको अपव्याख्या गर्दै कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले असार २७ गते एकल निर्णयबाट घरजग्गा करमा भारी वृद्धि गरेको नेकपा माओवादी केन्द्र नगर संयोजक नमिता न्यौपाने बताइन् । उपमहानगरपालिकाले प्रतिवर्गफिट ६ सय ३५ रुपैयाँका दरले मूल्याङ्कन गर्दैआएको घरको मूल्याङ्कन १५ सय पु¥याएपछि नगरवासीहरु करको भार बढी तिर्न बाध्य भएका हुन् । तर दुई करोडभन्दा बढी सम्पत्तिको मूल्याङ्कन हुने ठूला करदाताहरुले भने झण्डै ५० प्रतिशतसम्म कम कर तिर्ने अवस्था सृजना गरिएको छ । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को सातौं शंशोधनमार्पmत् करको दर परिमार्जन गरेपछि घरजग्गा कर सङ्कलन गर्दैआएको काठमाडौं महानगरपालिका र विराटनगर उपमहानगरपालिकामा करको दर परिमार्जन गर्नुपर्ने अवस्था उत्पन्न भएको हो । अन्य नगरपालिकाहरुले एकीकृत सम्पत्ति करको रुपमा सङ्कलन गर्दैआएका छन् । साना करदातालाई मर्का पर्ने र ठूलालाई सहुलियत हुनेगरी करको दर परिमार्जन हुने मन्त्रीस्तरको निर्णय परिवर्तन नभएसम्म चरणवद्ध आन्दोलन गर्ने र त्यसका लागि आमरण अनशनसमेत गर्नेगरी आन्दोलनको कार्यक्रम तय गरिने सभापति पराजुलीले बताए । पत्रकार सम्मेलनमा नेकपा एमाले नगर समिति इञ्चार्ज सागर थापाले पनि कर वृद्धि गर्ने निर्णयमा दलका प्रतिनिधिहरुको कुनै समर्थन नरहेको जनाउँदै नगरपालिकाले भ्रम सृजना गरेको भन्दै विरोध गरे ।