इटहरी/ राजनीतिक दलसँग कुनै छलफलनै नगरी इटहरी उपमहानगरपालिकाले काम गर्ने गरेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरुले असन्तुष्टी जनाएका छन् । दलसँग सहकार्य नगर्ने र रिपोर्ट तयार गरिसकेपछि साक्षी मात्रै राख्ने गरिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन् ।

आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक समीक्षा कार्यक्रममा कार्यकारी अधिकृत महेशराज तिम्सिनाले प्रस्तुत गरिएको विवरणमा असन्तुष्टी जनाउँदै राजनीतिक दल तथा सहभागी सङ्घसंस्थाका प्रतिनिधिहरुले उपमहानगरपालिकाबाट प्रदान गरिने लक्षित वर्गको
कार्यक्रम प्रभावकारी नभएको र योजना पनि पारदर्शी नभएको आरोप लगाए । साथै उपमहानगरपालिकाका कर्मचारीले पनि सन्तोषजनक काम नगरेको भन्दै दलका नेताहरुले कर्मचारीलाई सच्चिन आग्रह गरे ।कार्यक्रममा नेपाली काङ्ग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले विना छलफल ल्याइएको प्रतिवेदन जनतालाई ठग्ने काम मात्रै भएको साक्षी बस्न नसक्ने बताए । नगरपालिकाका कर्मचारीभित्र द्वन्द्व बढेको भन्दै दललाई कुनै पनि निर्णयमा बेवास्ता गर्ने गरेको उनले आरोप लगाए । उपमहानगरभित्र समेटिएका साविक गाविसलाई हेर्ने दृष्टिमा पनि समानता ल्याउन उनले आग्रह गरे । कार्यक्रममा नेकपा एमाले इटहरी उपमहानगर कमिटीका अध्यक्ष रेवती घिमिरले भने, ‘कार्यालयका कर्मचारी साथीहरु गम्भीर हुनुपर्छ र कार्यालयभित्रको बेथिति कार्यकारी अधिकृतले नियन्त्रण गर्न सक्नु पर्छ ।’ प्रस्तुत गरिएको रिपोर्टमा कतिपय कुरा आधारहीन पुरानो तथ्याङ्कमा आधारमा ल्याएको भन्दै उनले आपत्ति जनाए ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका इटहरी अध्यक्ष कोविदजंग कार्कीले पनि नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाए । यसैगरी इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौंलागार्इंले नगरका कार्यक्रम प्रभावकारी नभएको र सञ्चालन गरिएका योजना पनि प्रभावकारी नभएको बताए । कार्यालयका कर्मचारी आपैंm नेता बन्ने प्रवृत्ति बढेको भन्दै जसको कारण सेवाग्राहीले उचित सेवा नपाएको बताए ।
अन्य सहभागी राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुले सञ्चालनमा आएका योजना पनि प्रभावकारी नभएको र निर्माण भएका सडक तथा नाला गुणस्तरहीन भएको भन्दै उचित निगरानी राख्न आग्रह गरेका थिए ।
गत आर्थिक वर्षको समीक्षा बैठकमा इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले कार्यालय परिसरमा सीसी क्यामरा जडान गरिएको, तालतलैयामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरिएको, सार्वजनिक जग्गाहरुको लगत तयार गरिएको लगायतका उपलब्धी राखेका थिए । यस्तै नगरको समस्याका विषयमा ढल व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ । दल र सहभागीको असन्तुष्टीलाई सम्बोधन गर्दै कार्यकारी अधिकृत तिम्सिनाले नगर परिषद्मा दलहरुसँगको छलफलबाटै योजना आएको बताउँदै परिषद्मा छलफल हुने बताए ।